धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै

धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एवम् प्रमुख व्यापारिक केन्द्र धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ ।

कैलाली उद्योग वाणिज्य संघले आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म यहाँ महोत्सव आयोजना गर्न लागेको हो । व्यापार व्यवसाय प्रवद्र्धनका साथै कला, संस्कृति, पर्यटन सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ १८ औं संस्करणको महोत्सव आयोजना गर्न लागेको संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

समृद्ध सुदूरपश्चिम बनाउने अभियानको रुपमा संघले २०६३ सालदेखि सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ । यस वर्षको महोत्सवमा कृषि, जडिबुटी, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक्स, सूचना प्रविधि लगायतको गरेर पाँच सयवटा स्टल रहने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

उनले महोत्सव आयोजनामा तीन करोड खर्च हुने महोत्सव अवधिभरि १५ करोड रुपियाँको कारोबार हुने जानकारी दिए । करिब पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जानकारी दिएको छ । यो महोत्सव सुदूरपश्चिम प्रदेशको आर्थिक विकासका लागि सम्भावनाको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, भाषाको संरक्षणमा कोसेढुङ्गा सावित हुने आयोजकले जानकारी दिएको छ ।

पशुपति टोलस्थित मैदानमा आयोजना हुने महोत्सवको धमाधम तयारी भइरहेको आयोजकले जानकारी दिएको छ । महोत्सवलाई भव्य र सभ्य बनाउन मुल आयोजक सहित २९ वटा समिति गठन गरिएको छ । उनका अनुसार महोत्सवको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलिले गर्ने कार्यक्रम रहेको छ ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM