धनगढी वेथितिः एकै व्यक्ति शिक्षकदेखि निर्देशक

शेरबहादुर ऐर/धनगढी– धनगढी उपमहानगरपालिका नगर प्रमुखको सचिवालयको जिम्मेवारीमा रहेका छन् कृपाराम उपाध्याय । उनी नगर प्रमुखको सचिवालयसंगै धनगढी बहुप्राविधिक शिक्षालयका निर्देशक समेत छन् ।

२०७९ को निर्वाचनअघि उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित ठेकराज माध्यामिक विद्यालयको प्रधानाध्यापक थिए । स्थानीय निर्वाचनमा नगर प्रमुखमा गोपाल हमाल निर्वाचित भएपछि अहिले धनगढीमा उनको मनोपलि जस्तै देखिन्छ ।

नगर प्रमुखको सचिवालय सम्हालेदेखि उनी विद्यालय नगई सेवासुविधा लिए । अहिले सो विद्यालयबाट काज लिई धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित पञ्चोदय माध्यमिक विद्यालयमा शिक्षकका रुपमा काम गरिरहेका छन् ।

२०४६ साल चैत १ गते विज्ञान विषयमा स्थायी नियूक्त लिएका उपाध्यायले शिक्षकको जिम्मेवारीभन्दा बढी उपमहानगरपालिकाको सचिवालयमै जोड दिइरहेका छन् ।

उनी भन्छन् –‘मेरो दरबन्दी ठेकराज माध्यामिक विद्यालयमै हो । तर, अहिले काज सरुवा भई पञ्चोदयमा छु । केही महिनामा अवकास लिदै छु ।’

नगर प्रमुखको सचिवालय सम्हालेसंगै विद्यालयको पठन–पाठननै प्रभावित पारेका उपाध्यायलाई नगर प्रमुख हमालले दण्ड तथा सजाय दिनुभन्दा अवसरमाथि अवसर थपिरहेका छन् । विद्यालयमा हाजिर हुन कठिनाई भएपछि नगर प्रमुख हमालले उनलाई सहजता दिलाउन पञ्चोदयमा काज दिएको जनाइएको छ ।

‘शिक्षकहरु राजनीतिक आस्था बोकेकै कारण शिक्षामा सुधार हुन सकेन । शिक्षकहरुले विद्यालयमा राजनीति गर्नुभन्दा पठनपाठनमा जोड दिनुपर्छ’ भनेर दलको आस्थामा रहेका शिक्षकहरुलाई आरोप लगाउँदै आएका नगर प्रमुख हमालले आफुलाई निर्वाचित गराउनमा सहयोग गरेका शिक्षकले पठनपाठन नगराउँदा समेत दोहोरो तेहोरो भुमिका दिँदै आएका छन् ।

राजनीतिक आस्था बोकेकै कारण कतिपय शिक्षक विरामी भएर उपचार गराइरहेको अवस्थामा समेत अनिवार्य विद्यालयमा हाजिर हुन लगाइरहेका छन् । तर, उनका कमिकमजोरी र जनगुनासो बढ्दै जाँदा पनि केही नगरेको शिक्षकहरु बताउँछन् ।

नगर प्रमुख हमालले शिक्षकका विभिन्न संगठनमा रहेका शिक्षिकाहरु गर्भवति तथा सुत्केरी र छोराछोरीको स्याहारका लागि घरपायक खोज्दा पनि दुरदराजका विद्यालयमा सरुवा गरेका गुनासाहरु पनि छन् ।

पदलेमात्र निर्देशक

२०७८ सालमा सञ्चालनमा आएको थियो धनगढी बहु–प्राविधिक शिक्षालय । धनगढी उप–महानगरपालिकाले प्राविधीक शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिईभिटी) संगको साझेदारीमा संचालनमा ल्याएको शिक्षालयको निर्देशक पनि यीनै उपाध्याय रहेका छन् ।

भक्तपुरको ख्वाप ईन्जिनियरिङ्ग कलेज पछि उपत्यका बाहिर आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप–महानगरपालिका पहिलो हो तर, सो शिक्षालयमा निर्देशक नगर प्रमुख निकटकै व्यक्ति निर्देशक बन्ने गरेको छ । तत्कालिन समयमा नगर प्रमुख नृपबहादुर वड निकट टेकेन्द्र देउवालाई नियूक्त गरे । तर, नगर प्रमुखमा हमाल निर्वाचित भएपछि उनले राजिनामा दिए ।

अहिले सो शिक्षालयमा निर्देशक रहेका छन् उपाध्याय । तर, शिक्षालयमा कुन–कुन विषय र कति विद्यार्थी छन भन्नेबारेमा अनविज्ञ छन् । उनले भने –‘शिक्षालयमा निर्देशक पद रिक्त रहेकाले केही दिनका लागि मैले जिम्मेवारी सम्हालेको हुँ । कोही योग्य मान्छे पाए त्यो पद छोड्छु । शिक्षालय विहान १० बजेसम्ममात्र खुल्छ । कुन विषय र कति विद्यार्थि छन भन्ने जानकारी लिन विहानको समयमा शिक्षालयमा आएर जानकारी लग्नुहोला । अहिले म नगर प्रमुखको सचिवालयमा छु ।’

शिक्षालय व्यवस्थापन तथा सञ्चालन विधेयकले निर्देशकलाई उपमहानगरपालिकाको समान तहका कर्मचारीभन्दा कम नहुने गरि पारिश्रमिक सुविधा तथा सेवाहहरु रहने उल्लेख छ ।

न्यून शुल्कमा अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन गराउने लक्ष्यसहित शिक्षालय सञ्चालनमा ल्याइएको थियो ।

धनगढी बहुप्राविधिक शिक्षालय उप–महानगरपालिकाको ड्रिम प्रोजेक्ट हो । धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा अटोमोवाईल ईन्जिनियरिङ्ग तीन बर्षे डिप्लोमा तहको १ लाख ८२ हजार र होटल म्यानेजमेन्ट तीन बर्षे डिप्लोमा तहको १ लाख ५३ हजारमा पढाई पुरा हुने गर्दछ । यही बिषय अन्यत्र बढ्दा ठूलो खर्च हुने गर्दछ ।

ad_wide