धनगढी २ मा गयश्वर ड्राइभिङ्ग सेन्टरद्धारा दिईएको तालिम सम्पन्न

धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा स्वरोजगारका लागि युवा युवतिलाई ड्राइभिङ्ग तालिम प्रदान गरिएको छ । धनगढीको वडा नं. ३ फाप्लामा रहेको गयश्वर ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरको सहकार्य र धनगढी उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा एक महिना सञ्चालन भएको तालिमको बुधबार समापन गरिएको छ । तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सुदूरपश्चिम प्रदेश सभा सदस्य डम्मरी कुमारी महरा (रक्षा) ले प्रमाणपत्र प्रदान गरिन् ।

सो अवसरमा बोल्दै महराले एक महिनाको तालिमले स्वरोजगार बनाउन मद्दत पुग्ने बताइन् । उनले भनिन –‘बेरोजगार छु भन्ने युवाहरुको वितृष्णा र मानसिकतालाई चिर्न जरुरी रहेको छ सिकेका सिपहरुलाई सहि रुपमा सदुपयोग गर्न जरुरी छ ।’ उनले युवाहरु सक्षम भएर र कुलतमा नलागे सफल हुने बताउँदै –‘अहिले सामाजिक सञ्जालको दुरुपयोगले नेताहरुले केही गरेनन भन्ने मानसिकता रहेको छ । अहिले देशमा थुप्रै कामहरु भएका छन् । युवाहरुले सकारात्मक सोचका साथ अघि बढन जरुरी छ ।’

 

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले युवायुवतिहरुलाई सक्षम बनाउन वडाबाटै विभिन्न तालिमहरु सञ्चालन गरिरहेको बताए । उनले भने –‘अहिले वडामा कम्प्युटर, ड्राइभिङग, ब्यूटिपार्लर लगायतका विभिन्न तालिमहरु युवायुवतिहरुलाई दिइरहेको छ ।’ उनले गयश्वर ड्राईभिङका सञ्चालक सुरज शिवाकोटीको सहयोग प्रति खुसी व्यवक्त गर्दै धन्यवाद दिए ।

वडा सदस्य बिन्द्राकुमारी बमले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव सूर्यबहादुर कार्कीले सञ्चालन गरेका थिए । तालिम समापनमा सो वडाका सदस्यहरु, प्रशिक्षक सुरज शिवाकोटी र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । एक महिनासम्म दिइएको तालिममा ७२ जना सहभागि रहेको सुरज शिवाकोटीले जानकारी दिए ।

 
ad_wide