धनगढी - सुनिल नेपाली र कल्पना बिसीको नयाँ देउडा गीत ब्याउली सार्वजनिक भएको छ। सुदूरपश्चिमको देउडा तथा लोक भाकामा छुट्टै पहिचान रहेको सुनिल नेपाली र पूर्णकला विशिकै आवाजमा नयाँ गीत ब्याउली डीआर चौतारी युट्युब च्यानलबाट सार्वजनिक भएको छ
धर्मराज भट्टराईको शब्द सिर्जना रहेको गीतमा विनोद बाजुरेलिले एरेन्ज गरेका छन् । सागर बाजुरेलीको रेकर्डिङ रहेको गीत काठमाडौँको मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो। गीतमा सुदूरपश्चिमका विभिन्न क्षेत्रहरू साथै सुदूरपश्चिममा गाइने तथा खेलिने देउडा खेल प्रस्तुत गरिएको छ। भिडियोमा रमेश बिजुली बिसीको निर्देशन रहेको छ भने सरोज रोकाया बिमला बिष्ट अशोक अधिकारी र अनु खड्काको अभिनय रहेको छ।
उक्त भिडियोको क्यामेरा तथा ड्रोनमा दयाराम चौधरीले सहयोग गरेका छन् भने सम्पादन शंकर साउद र गणेश साउदले गरेका छन्। गीतमा ठट्यौली पारामा सुदूरपश्चिममा रहेका विभिन्न कला तथा संस्कृतिको उजागर गर्ने किसिमले शब्दहरू प्रस्तुत गरिएका छन्। जन्तीमा सजाइने दुलहीको वर्णन गरेर गीतको शुभारम्भ गरिएको छ भने विभिन्न शब्दहरू प्रस्तुत गर्दै सुदूरपश्चिमको रितिरिवाज समेत उक्त गीतमा प्रस्तुत गरिएको छ ।
पछिल्लो समय सुदूरपश्चिममा देउडा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अनु खड्काले यो म्युजिक भिडियोमा अभिनय गरेकी छन् भने नवकलाकार अशोक अधिकारीको पनि उत्कृष्ट प्रस्तुति यो देउडा गीतमा देख्न सकिन्छ। त्यस्तै भिडियोमा सरोज रोकाया र बिमला बिष्टको समेत प्रस्तुति देख्न सकिन्छ।