नाममात्रै ५० शैय्याको आयुर्वेद अस्पताल न त विशेषज्ञ सेवा, न त आवश्यक जनशक्तिः न्यून बजेटमा चलिरहेको अस्पताल फार्मेसी

शेरबहादुर ऐर, धनगढी– दुई वर्षअघि ५० शैय्या अस्पतालका रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको समुद्घाटन गरी संचालनमा ल्याए ।

२०७९ साल चैतमा संचालनमा आएको सो चिकित्सालयले अस्पतालका रुपमा भन्दा पनि औषधालय जस्तै सेवा प्रदान गर्नुपर्ने अवस्था रहेको छ । स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्डले ५० शैय्याको आयुर्वेद अस्पताल संचालन गर्न चार जना विशेषज्ञ चिकित्सक, छ जना सर्जन चिकित्सक, छ जना आयुर्वेद सहायक, छ जना आयुर्वेद सह–सहायक, ल्याब टेक्नोलोजिस्ट एक, ल्याब टेक्नीसियन र दुई जना ल्याब एसिस्टेन्ट हुनुपर्ने व्यवस्था गरेको छ ।

तर, सो मापदण्ड अनुसारको दरबन्दी सो अस्पतालमा हुन नसक्दा ‘नाममात्रैका अस्पताल’ जस्तो बन्न पुगेको छ । मापदण्डले चार जना स्टाफ नर्स, आठ जना अनमी, दुई जना फिजियोथेरापिष्ट, एक फिजियोथेरापी सहायक, एक जुनियर मेडिकल रेकर्ड अस्सिटेण्ट हुनुपर्ने व्यवस्था गरेको छ ।

अस्पताल संचालनका लागि आवश्यकता अनुसार पूर्वाधार रहेको भएपनि प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्न नसकेको आयुर्वेद चिकित्सालयले जनाएको छ । ‘सरकारले ५० शैय्या अस्पताल घोषणा गरेर संचालनमा त ल्यायो तर, सो अनुसार जनशक्ति व्यवस्थापन गर्न सकेको छैन् । पटक–पटक सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा अनुरोध गर्दा समेत कुनै सुनुवाई हुन सकेको छैन’ अस्पतालका सूचना अधिकारी सुरेन्द्र शाहीले भने ।

चिकित्सालयमा अन्तरंगसहितको सेवा उपलब्ध गराउने गरि पाँच जना चिकित्सक (डाक्टर), प्राकृतिक चिकित्सक र होमियोप्याथिक एक÷एक, कविराज चार, स्टाफ नर्स दुई, ल्याब, रेडियोग्राफर एक÷एक र अन्य गरि ३५ जना कर्मचारीको दरबन्दी रहेको छ । तर, सो अनुसार पनि प्रदेश सरकारले स्थायी दरबन्दी पूर्ति गरेको छैन् । चिकित्सालयले अहिले प्रदेश सरकारले स्वीकृत दरबन्दीलाई पूर्ति गर्न करारमा कर्मचारी भर्ना गरेर काम गराउनुपर्ने बाँध्यता रहेको छ । चिकित्सालयमा स्थायी दरबन्दीमा हाल दुई जनामात्र कार्यरत रहेका छन् । एक जना आयुर्वेद चिकित्सक चिकित्सालयमा स्थायी रुपमा कार्यरत रहेकोमा हाल काजमा सामाजिक विकास मन्त्रालयमा रहेका छन् । चिकित्सालयमा करारमा तीन जना आयुर्वेद चिकित्सक, एक होमियोप्याथी चिकित्सक, तीन जना कबिराज, दुई जना स्टाफ नर्स, एक÷एक ल्याब टेक्निसियन र रोडियोग्राफर करारमा कार्यरत रहेको जनाइएको छ ।

चिकित्सालयका व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टले एक सय १४ जनशक्तिको माग सहित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्र पठाएको बताए । उनले भने –‘यो आर्थिक वर्षमा हामीले माग गरेको जनशक्ति व्यवस्थापन हुन सकेन् । अर्को आर्थिक वर्षमा नयाँ संगठन संरचना तथा कर्मचारी व्यवस्थापन (ओएनएम) तयारी गरि लागु गर्नेमा विश्वास लिएको छु ।’

आयुर्वेद चिकित्सालयले हाल वहिरंग, पूर्वकर्म÷पंचकर्म, प्रयोगशाला, एक्सरे, योग, व्यायशाला, सावना÷सावर सेवा रहेको जनाएको छ । आफनै फार्मेसी पनि संचालन गरिरहेको छ । चिकित्सालयमा भिडियो एक्सरे, इसिजी र फिजियोथेरापी सेवा भएपनि जनशक्ति अभावले गर्दा सो सेवालाई नियमित गर्न समस्या भइरहेको अध्यक्ष विष्टले बताए । सावना÷सावर सेवा रहेको भएतापनि संचालन गर्न नसकिएको चिकित्सालयले जनाएको छ ।

संघीय सरकारले २०६८ सालमा सुदूरपश्चिम प्रदेशमा आयुर्वेद अस्पताल सञ्चालन ल्याउने उद्देश्यसहित क्षेत्रीय आयुर्वेद अस्पताल नामाकरण गरेको थियो । २०७७ सालको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रादेशिक आयुर्वेद चिकित्सालय नामाकरण गरि सञ्चालनको तयारी गरिएको थियो । सो भवनको ठेक्का २०६८ सालमै अघि बढेपनि निर्माण कार्य २०७४ सालमा अघि बढाइएको थियो । वनले स्वीकृति नदिँदा भवन निर्माणको काम छ वर्षसम्म अघि बढ्न सकेको थिएन । १८ करोड बढी लागतमा निर्माण भएको चिकित्सालय भवनबाट अन्तरंग, बहिरंग, योग, आयुर्वेद औषधि वितरण लगायतका सेवा प्रदान गर्ने जनाइएको थियो ।

ad_wide