सरस्वती विक/अयुष्मा पन्त
धनगढी– विगत एक सातादेखि दैनिक धनगढीको वातावरण अस्वस्थकर बन्दै गएको छ । धनगढीमा वायुको गुणस्तर मापदण्ड (एक्यूआई) दैनिकजसो एक सय ६२ देखि एक सय ७१ पुग्ने गरिरहेको छ । त्यसैमा धनगढीले निर्माणाधिन सडकहरुमा धुलो उड्न नदिने गरि काम गर्न सकिरहेको छैन ।
धनगढीले निर्माणाधिन सडकहरुमा पानी नहालिदिँदा सडकमा यात्रा गर्ने पैदल यात्रीदेखि सवारी चालकहरुले सास्ती भोग्नुपरिरहेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलालीपुलमा फर्निचर व्यवसायी गर्दै आएका छन चेतराज फुलारा । सडकको धुलो उनको पसलभित्रै छिर्ने गरेको छ । उनले निर्माण व्यवसायीले काम गरिरहदा धुलो नउड्ने गरि कहिलेकाही पानी हाल्ने गरेको बताए ।
धनगढीमै किराना पसल चलिरहेकी कबिता बस्यालले सडकको धुलोका कारण स्वास्थ्यमा समस्या रहेको बताइन ।
धनगढीको सडकमै घडी बनाउने कार्य गर्दै आइरहेका छन अनिल वर्मा । उनले निर्माणाधिन सडकको धुलो खादै काम गर्नुपरिरहेको छ । उनले सडकमा पानी हाल्न जरुरी रहेको बताए ।
निर्माण कम्पनिले पानी नछर्कदा पसलमा किनमेल गर्न आउने ग्राहकलाई समस्या दिइरहेको बताए । उनले सडकमा आवतजावत गर्ने मानिसले पनि समस्या भोगिरहेको बताए ।
कैलालीपुलदेखि क्याम्पसरोडसम्मको सडक अहिले निर्माणाधिन अवस्थामा रहेको छ । केही क्षेत्रमा कालोपत्रे भइसकेको छ भने केही क्षेत्रमा कालोपत्रे हुने क्रममा रहेको छ । तर, कालोपत्रे नभएका क्षेत्रमा निर्माण व्यवसायीले पानी नहालिदिँदा व्यवसायी, आवतजावत गर्ने मानिसहरुले सास्ती भोग्नुपरिरहेको छ ।