नीतिगत अनियमिततामा रमाईरहेका धनगढीका नगर प्रमुख हमाल

शेरबहादुर ऐर/धनगढी– धनगढीको नगर प्रमुखमा निर्वाचित भएर आएका गोपाल हमालले २०७९ साल ३१ असारमा उपमहानगरपालिकाका दुई वटा वडालाई आवासीय क्षेत्रभन्दै जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको थियो । सोही दिन नगर प्रमुख गोपालका भाइ श्याम हमालले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित जग्गा कित्ताकाट गरे ।

श्यामले ११९ नम्बरको कित्ताकाट गरी दिनेश ट्रेडिंग हाउसको नाममा सोही दिन पास गरेका थिए । उद्योग घाटामा गएको देखिने भएपछि श्यामले आफ्नो जग्गालाई उद्योगको नाममा कित्ताकाट गरी बैंकको ऋण पुँजी बृद्धि गरेका थिए ।

२०८० पुसमा धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङ गर्दा जग्गामा बाटोको चौडाइ कम्तीमा १० मिटरको हुनु पर्ने नयाँ बाटोको घुम्ती वा मोडको न्यूनतम अर्ध व्यास बाटोको चौडाइ भन्दा २० प्रतिशतले बढी हुनुपर्ने गरि जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधि जारी ग¥यो । आफ्नो जग्गामा आठ मिटरमै प्लटिङ्ग गरेपछि नगर प्रमुख हमालले सो कार्यविधि जारी गरेका थिए । सो कार्यविधिविरुद्ध अहिले अदालतमा मुद्दा परि विचाराधिन रहेको छ । तर, नगर प्रमुख हमालले अदालतको फैसला नकुरी यसै वर्षदेखि लागु गरेको जानकारी दिए ।

माथि उल्लेख गरिएका प्रतिनिधित्वमुलक उदाहरणमात्र हुन् –‘नगर प्रमुख हमालले नीतिगत स्वार्थ केन्द्रित गरेका निर्णय ।’

नगर प्रमुख हमालले धनगढी १ मा रहेको दुश्यान्त बस्नेतले आफनो सम्पत्ति संरक्षणका लागि अदालतमा उजुरी दिएकै कारण धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा निर्माण भएको संजिवनी अस्पताललाई संचालन अनुमति दिएनन् । बस्नेतले आफनो सो संरचना आफै भत्काएपछि अस्पताल मापदण्डविपरित संचालन अनुमति दिएको थियो ।

मनमर्जिको निर्णयले समस्यामा उपमहानगरपालिकाबासी

‘अहिले सेडब्याकसहित १८ फिट अनिवार्य ग¥यो । मेरोसहित छिमेकमा रहेका व्यक्तिहरुको पनि सम्पत्ति भत्काउनुपर्ने अवस्था आयो । भित्री सडकमा १४ फिटको बनाएपनि हुन्थ्यो । हामीले भन्दा त मानेन’ धनगढीको चिया पसलमा आफनो घरनै साँघुरो हुन लागेपछि साथीहरुसंग पोखेको दुखेसो हो यो ।

उनीजस्तै धनगढीका मुख्य सडकबाहेक सहायक तथा भित्री सडकमा घर निर्माण गरेका व्यक्तिहरु अहिले धनगढीको नयाँ नीतिदेखि क्रसित छन् ।

कुनै सडकको चौडाई आठ मिटर तथा कुनै सडक १० मिटर र कुनै सडक पाँच मिटरमा निर्माण गर्न लागेपछि धनगढीका स्थानीयबासी धनगढीको नीतिदेखि अस्पष्ट रहेका छन् । धनगढी उपमहानगरपालिकाको निर्माणाधिन धनगढी १ र ५ जोड्ने सडक निर्माण संरचनानै फरक देखिन्छ । वडा नम्बर १ तर्फ चौडाई बढाइएको छ भने वडा नम्बर ५ मा चौडाई नछोडी पर्खाल हाल्ने काम भइरहेको छ ।

सुकुटी नाला निर्माण गर्दा नाला अतिक्रमण हटाउने अभियान लिएका नगर प्रमुख हमाल निकट निरज थापाले अतिक्रमण गरेको नाला नहटाई तटबन्धन गरि संरक्षण गरेका छन् । सडक चौडाई गर्दा उनको घरको संरचना भत्काउनुपर्ने अवस्था आउन लागेपछि ५ नम्बर वडाको सडक साँघुरो बनाई निर्माण गरिन लागेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित राष्ट्रिय वाणिज्य बैंकदेखि सिटी स्कुलसम्म संरचना नभत्काई पुरानै सडकमा नाली निर्माण गरि स्तरोन्नति गर्ने कार्य भइरहेको छ । तर, सिटी स्कुलदेखि जनता माध्यामिक विद्यालय जाने सडक चौडाई गर्ने भन्दै संरचना भत्काइयो तर, हालसम्म न त नाली बनेको छ न त सडकनै बनाउन सुरसार भएको छ ।

धनगढीको चौराहदेखि होटल सौराई जोड्ने सडकको चौडाई पनि धनगढी उपमहानगरपालिकाले बनाएको मापदण्ड अनुसार छैन् । सबैभन्दा बढी जलमग्न हुने सो सडक पनि साँघुरोमानै निर्माणाधिन अवस्थामा रहेको छ ।

धनगढीको आफनो घर टेम्पल रिसोर्टदेखि शहिदगेट जाने सडक पनि उपमहानगरपालिकाले निर्माण गरिरहेको छ । तर, सो सडकको चौडाई पनि पुरानै अवस्थामा रहेको छ । न त संरचना भत्काइयो न त चौडाईनै गरियो । सो सडकमा अहिले नाली निर्माण कार्य भइरहेको छ ।

धनगढीले सडक चौडाई गर्नेभन्दै धनगढीको मुख्य सडकको लक्ष्मीनारायण मन्दिरदेखि राष्ट्र बैंकसम्मका घरधनीलाई डोजर लगाएर संरचना भत्काइयो । गत वर्षनै नाली निर्माण र कालोपत्रे गर्ने प्रतिवद्धता गरेको धनगढीले अहिलेसम्म निर्माण गर्न सकेको छैन् । सो सडकमा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सेडब्याकसहित संरचना खाली गर्न भनी पर्खाल भत्काइयो भने प्रदेश प्रमुखको निवासको पर्खाल भत्काएर छोड्यो । तर, धनगढीले आफनो सपिङ्ग कम्पलेक्सलाई कुनै तोडफोड गरेन् । यसका साथै सोही मन्त्रालयसंग जोडिएका व्यक्ति तथा नगर प्रमुख हमालको आफनो होटल जाने बाटोमा कुनै तोडफोड गरेन् । नगर प्रमुख हमालको दिनेश कटेज जाने सडकमा एकमात्र गाडि जाने सडक संरचना रहेको छ ।

धनगढीको नैनादेवीदेखि हसनपुर सडक पनि चौडाई गर्न अहिले उपमहानगरपालिकाले संरचना खाली गराइरहेको छ । तर, सोही क्षेत्रमा रहेको नैनादेवी मन्दिरको संरचनामा वैकल्पिक व्यवस्था नभएसम्मका लागि कुनै तोडफोड नगर्ने सहमति गरेको स्रोतको भनाई छ ।

कार्यविधि देखाउँदै नक्सा पास हुँदैन

धनगढीको जग्गा प्लटिङ्ग कार्यविधिले जग्गा प्लटिङ्ग अर्थात व्यक्ति तथा सर्वसाधारणले घर निर्माण गर्न झण्डै १२ धुर जग्गा आवश्यक पर्ने भएको छ । सोही कार्यविधि अनुसार अहिले धनगढीमा घर बनाउन नक्सा पास गर्न जाने व्यक्तिहरु समस्यामा परिरहेका छन् ।

सात धुर जग्गामा घर निर्माण गर्न धनगढीमा नक्सा पासका लागि जाने सेवाग्राहीहरु अहिले फिर्ता हुने गरेका छन् । कार्यविधि अनुसार घर नक्सा पास गर्न नमिल्ने भन्दै सेवाग्राहीलाई समस्या दिने गरेको धनगढीबासीहरु बताउँछन् ।

धनगढीमा कसैले पाँच धुर त कसैले सात धुर जग्गामा नक्सा पास गराउन खोजेमा उपमहानगरपालिकाले अस्विकार गर्दा आफै टहरा निर्माण गरि बस्न खोज्दा नक्सा पास नभएको भन्दै नगर प्रहरी खटाएर संरचना भत्काउने गरेको छ । धनगढीमा साउन यता तीन सय ५१ नक्सा पास भएको तथ्यांकमा उल्लेख छ ।

नक्सापास मात्र नभई अहिले धनगढीमा आम सर्वसाधारणहरुले आफनो जग्गा विक्री गर्न पाएका छैन् । छोराछोरी पढाउन, स्वास्थ्यउपचार गर्न, छोराछोरीलाई वैदेशिक रोजगारीमा पठाउन तथा विवाह गराउन जग्गा विक्री तथा बैंकमा धितो राखी ऋण लिनुनै यहाँका मानिसको विकल्प हो । तर, नयाँ कार्यविधि आएपछि सात आठ धुर भएका व्यक्तिहरुको जग्गा विक्रीमा समस्या भइरहेको गुनासो रहेको छ ।

जग्गा कारोबारमा कमि

सुदूरपश्चिमको सबैभन्दा बढी जग्गा कारोबार हुने जिल्लामा पर्छ कैलाली । कैलालीभित्र सबैभन्दा जग्गा कारोबार हुने स्थानीय तह धनगढी उपमहानगरपालिका पर्छ । तर, पछिल्लो समय धनगढीले कार्यविधि ल्याएपछि सो कारोबारमा कमि आएको भुमिसुधार कार्यालय कैलालीको तथ्यांकमा रहेको छ ।

‘पछिल्लो समय जग्गा कारोबारमा देशैभरी कमि आएको छ’ भुमि सुधार कार्यालयको तथ्यांक कर्मचारीले नाम उल्लेख नगर्न भन्दै –‘कारोबारमा कमि आउनुबारे ठ्याक्कै यहि कारण हो भन्न सकिदैन् । आर्थिक मन्दी, जनशक्ति विदेश पलायन हुनुले जग्गा कारोबारमा कमि आएको हुन सक्छ । यसका साथै राष्ट्रका निकायहरुले बनाउने नीतिले पनि केही प्रभाव पारेको छ ।’

मालपोत कार्यालयमा पछिल्लो समय कित्ताकाट, जग्गा खरिदविक्री, रोक्का तथा फुकुवा लगायतको संख्यामा कमी आएको उल्लेख छ । पछिल्लो तीन वर्षमा ४० हजार तीन सय ९६ जनाले सेवा लिएको कार्यालयको तथ्यांकमा रहेको छ ।

ad_wide