शान्ती प्रसाद जोशी धनगढी- हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। व्रतालु महिलाहरु विहानैदेखि पुजापाठमा लागेका छन्।
भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ ।
परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन भइन् । तर, उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी उनले भगवान् विष्णुको प्रार्थना गरिन् र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलीविस्तार लगाए । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । त्यसैले यो पर्व हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा)को नामले प्रचलित हुन पुुगेको अठोला ज्योतिष डिल्ली राज जोशीले बताए ।
विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्ने गर्छन् ।
तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् । तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने जनविश्वास रहिआएको ज्योतिष जोशीले बताए । यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरि नाचगान गर्छन् । यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएका हुन्छन् । कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन् । दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलाहार गर्छन् ।
श्रीमद्भागवत महापुराणको अर्को प्रसङ्गअनुसार भाद्र कृष्ण अष्टमीको दिन भगवान् श्रीकृष्णको जन्म भयो । श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी भएको प्रसंग रहेको ज्योतिष जोशीले बताए ।
गणेश चौथी
तीजको भोलिपल्ट भाद्र शुक्ल चतुर्थीको दिन पर्ने गणेश चौथी विश्वभरिका हिन्दु धर्मावलम्बीले शिवपुत्र भगवान् गणेशको आराधना गरी मनाउने गर्छन् । यस दिन नेपालको गणेश मन्दिरहरूमा भगवान्को आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । कतैकतै यस दिनदेखि अनन्त चतुर्दशीसम्म दश दिन गणेशोत्सव मनाउने चलन पनि रहेको पाइन्छ । नेवार समुदायमा पनि यो पर्व चथाःको नामले प्रसिद्ध छ । स्कन्द पुराणअनुसार यस दिन भगवान् गणेशको जन्म भएको थियो । हिन्दु धर्मावलम्बीहरूले यस दिन आफ्नो जीवनमा कुनै विघ्न नआओस्, र आफूले आँटेको कार्य सिद्ध होस् भनी गणेशको पूजा गर्ने गर्छन् ।
श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो ।
ऋषिपञ्चमी
तीजको पर्सिपल्ट अर्थात् पञ्चमीको दिन महिलाहरूले रजस्वलाको समयमा भएका त्रुटि तथा दोषको निवारण गर्न ऋषिहरूको पूजा गर्छन् । ऋषिपञ्चमीको दिनमा अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ)को पूजा गर्नाले रजस्वलाको समयमा भएका त्रुटिहरू नष्ट हुने शास्त्रीय मान्यता रहेको ज्योतिष जोशीको भनाइ रहेको छ । यस दिन महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई ३६५ दत्तिउनले दन्तमञ्जन गर्दछन्, शरीरमा गाईको गोबर र माटो लगाएर स्नान गर्छन् । स्नान गर्दा ३६५ पटक नै नुहाइन्छ । त्यसको लागि गनौती अर्थात् गनिएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई नुहाउने चलन छ । नुहाइसकेपछि महिलाहरू पवित्र भएर ऋषिपूजा गर्छन् । ऋषि पञ्चमीका विषयमा यस्तो किंवदन्ती रहेको जोशीले बताए ।
विदर्भ देशमा बस्ने उत्तङ्ग नामका ब्राह्मणका एक छोरा र एक छोरी थिए । छोरो सानै उमेरमा वेदमा पारङ्गत भयो भने छोरी पूर्वजन्मको पापका कारण सानै उमेरमा विधवा भइन् । एकपटक छोरीको शरीरभरि खटिरा आएर किरा परेछ । यस्तो वज्रपात छोरीमाथि किन प¥यो भनी बुझ्दा अघिल्लो जन्ममा छोरी रजस्वला भएका बेलामा छुवाछुत बार्दिनथिन् र ऋषिपञ्चमी व्रतको पनि अवहेलना गर्थिन्, तर व्रत नलिए पनि पञ्चमी पूजा भने हेर्थिन् । त्यसै पुण्यले उनको जन्म ब्राह्मणको परिवारमा भएको थियो । यस्तो थाहा पाएपछि मातापिताले छोरीलाई पञ्चमीको व्रत बस्न लगाए । अनि उनी पापमुक्त भएर सुखी जीवन बिताउन थालिन् ।
खुसियाली साट्ने प्रसङ्गबाट सुरु भएको नाचगानमा बिस्तारै महिलाहरूले आफ्नो भावना, सुखदुःख तथा नारीको संवेदनालाई पनि गीतको विषय बनाउँदै लगे । आजभोलि नारीले भोग्नुपरेका दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचारजस्ता विषयमा समेत गीतहरू गाइन्छन् ।