नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले गभर्नर बन्ने सुनिश्चित भएसँगै पदबाट राजीनामा दिएका छन्। राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार, उनले गभर्नर नियुक्तिको तयारीस्वरूप राजीनामा बुझाएका हुन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा दुई चरणमा भएको छलफलपछि डा. भट्टलाई नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर बनाउने सहमति जुटेको थियो।
गभर्नर नियुक्तिको विषयमा सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच लामो समयसम्म सहमति नजुटेपनि अन्ततः कांग्रेसको अडानका कारण एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पछि हट्दै गभर्नर पद कांग्रेसलाई दिने निर्णय गरेका हुन्।
बुधवार बसेको कांग्रेस–एमालेबीचको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सभापति देउवाले डा. भट्टको नाम प्रस्ताव गरेका थिए, जसलाई ओलीले समर्थन जनाए। यसै निर्णयपछि गभर्नर बन्ने दौडमा रहेका अन्य पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै भट्टको नियुक्ति प्रायः पक्का भएको हो।
यस विषयमा बिहीबार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई समेत देउवाले जानकारी गराएका थिए।
डा. भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् र नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा लामो समय काम गरेका छन्। साथै, उनी अघिल्लो कार्यकालमा कांग्रेसका तर्फबाट अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतका आर्थिक सल्लाहकार समेत थिए।
गभर्नर नियुक्तिको औपचारिक निर्णय मन्त्रिपरिषद्को अनुमोदनपछि हुनेछ।