बुधबार, जेष्ठ १, २०८२

पत्रकार महासंघ सुदूरपश्चिमले मुख्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र

अत्तरिया : सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएको छ ।

महासङ्घ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाएको हो । महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाहले मुख्यमन्त्रीलाई सो पत्र बुझाएका हुन् ।

राजावादीको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको, अन्नपूर्ण पोस्ट दैनिकको भवनमा आगजनी तथा तोडफोड गरिएको, कान्तिपुर टेलिभिजन र हिमालयन टेलिभिजनमा क्षति पु¥याइनुका साथै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी उनको खुट्टा भाँचिएकोलगायत घटनाहरू भएका थिए ।

महासंघले यस्तो घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । महासंघले एक साताभित्र माग पूरा नभए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

साथै मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति, घाइते पत्रकारहरूको उपचार, सञ्चारगृहमा भएको क्षतिको भरपाइ तथा प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न महासङ्घले सरकारसँग माग गरेको छ ।

ad_wide