वर्षाै पुग्याे आज सहर छिरेको


वर्षौँ पुग्यो आज सहर छिरेको, सहरमा आफ्ना रहर देखेको, अनमोल प्रहरहरु पस्केको,

तर, न सहरले रहर देख्यो, न रहरले ती प्रहर बुझ्यो, न प्रहरले रहरका प्रसव पीडा देख्यो।

देख्नलाई त सहरले सबलाई देख्छ, कहिँ गरिब देख्छ त कहिँ धनी देख्छ, सहरले बुझ्नलाई त अथाह बुझ्छ अरे, कहिले पीडा बुझ्छ त कहिले खुशी

तर, जसले भेदमा पनि विभेद ल्याउँछ, त्यस्तो देखाइको के अर्थ? जसलाई पिडामा पनि मजाक सुझ्छ, त्यस्तो बुझाइको के अर्थ? अनि अर्थ नै नहुने सहरको के अर्थ?

बडो विचित्र छ, अर्थको पनि अर्थ न खोज्न सकिन्छ, न जान्न सकिन्छ यदि अर्थ नै मजाक हुने हो भनेँ। यहाँ सहरले रहर सजाउँछ भनेर,

गाउनेहरु, ताली पिट्नेहरु, झ्याली बजाउनेहरु, नभएको होइनन् तर तिनैले गल्लीको बैमान गर्न छोडेका पनि त छैनन्।।।

अनि, झ्याली पिट्न पनि नछोड्ने, बैमानीको रङ लगाउन पनि नछोड्ने,

सुन्दरताको कुरा गरेर स्वाङ रच्नेहरुलाई यो सहरले आफ्नो गर्भमा स्थान दिएको रहेछ। अनि इमान लिएर आएको बबुरोको रहरको के अर्थ?

जसले बैमानलाई गर्भमा सिञ्चित गरेको छ, जसले कुण्ठालाई आफ्नो शिरमा सजाएको छ, विचरा सहर त्यो इमान लिएर आएकोलाई कसरी आफ्नो बनाउन सक्छ?

कसरी भन्न सक्छ कि उ उसैको मान्छे हो भनेर? - नवराज जोशी 'अविरल

ad_wide