शान्तिप्रसाद जोशी धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दिर्घबहादुर सोडारीले सरकार व्यापारी र कम्पनि चलाईरहेको गम्भिर आरोप लगाएका छन् ।
सोमबार प्रदेश सभाको स्थापना दिवसलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री सोडारीले सरकार व्यापारी र कम्पनिको इशारामा चल्नु दुखदायी भएको बताएका हुन् ।
उनले नेपाल सरकार जनप्रतिनिधिले भन्दा बढी व्यापारीहरूले चलाइरहेको र उनीहरूको इशारामा नेपालको सरकार बन्ने र भत्किने प्रक्रिया निरन्तर चलिरहेको आरोप लगाए ।
‘ठुल–ठुला उद्योगपति तथा कम्पनीका मालिकहरूलाई विभिन्न राजनीतिक दलहरूले पैसा तथा पावरको लोभले टिकट दिने र प्रत्यक्ष रुपमा लड्न नसकेमा समानुपातिक रुपमा समेत उनीहरूलाई सरकारमा भित्र्याउने प्रक्रिया चलिरहनु नौलो होइन’ उनले भने –‘सरकार जनप्रतिनिधिहरूको अगुवाइमा चल्नुपर्ने हो । तर नेपालमा त्यो नभएर एक दुई ठूला व्यापारीको घरमा उनीहरूको निर्णय अनुसार सम्पूर्ण कामकुरो हुने गर्दछ । हरेक राजनीतिक दलहरूले ठुलठुला उद्योगपति तथा व्यापारीहरूलाई आफ्नो दलको सांसद तथा शीर्ष नेता बनाएका छन् ।’ वयापारी र कम्पनिकै सहयोगले पार्टी चलिरहेको उनले स्वीकार गरे । सरकारले गर्नुपर्ने काम कारबाही केही ठूला घरानाका व्यापारीहरूले पाउँदा उनीहरुले आफू अनुकूलको कानुन निर्माण तथा नीति निर्माण गर्ने गरेको बताउँदै ‘जनताहरू ती अनुकुलका कानुनले मारमा पर्ने गर्दछन् ।’
उनले भने ‘केन्द्रमा ठूलो मिडिया हाउसको सञ्चालकले राति आफ्नै घरमा बोलाएर एग्रिमेन्ट भएपछि सरकार ढलेको हो । लामो समय मैले काम गरेको पुरानो पार्टी नेकपा एमालेको पार्टी कार्यालय नेपालकै उद्योगपति मिनबहादुर गुरुङले चलाइरहेका छन् ।’
उनले नेपाली काङ्ग्रेसबाट अहिले प्रतिनिधि सभा सदस्य रहेका व्यापारी विनोद चौधरीको ठुलो लगानी पार्टीमा रहेको बताए । उनले प्रत्येक प्रदेश तथा स्थानीय तहको बजेटसमेत केन्द्रमा हालीमुहाली रहेका ठूला व्यापारिक घरनाबाट निर्माण हुने गरेको उनले इङ्कित गरे । ‘पहिलापहिला त आफ्नो प्रदेशमा चाहिने बजेट जनप्रतिनिधि तथा सांसदहरूबाट निर्माण हुने गरेको थियो । तर अहिले त केन्द्रमा हालीमुहाली बढिरहेको छ’ उनले भने ‘अहिले प्रदेशमा बस्ने संसद तथा मन्त्रीहरू समेत कठपुतली भएर माथिकै आडमा कुन बजेट आएको छ भनेर बस्नुपर्ने अवस्था छ । आफूलाई चाहिने बजेट भन्दा पनि माथिल्लो निकायमा बसेका दलाल सामन्तीहरूले दिएको बजेटमा प्रदेशका योजना तर्जुमा भइरहेका छन् ।’
उनले गणतन्त्रको नाममा जनताहरूको बलिदानी र परिवर्तनका नाममा भएका आन्दोलनहरू अहिले आएर निष्क्रिय जस्तै भएको बताउँदै ‘उनै शोषक सामन्तीहरू राज्यको शीर्ष स्थानमा पुग्दा जनताहरूले शास्ती भोग्नुपरेको छ । यस्ता प्रवृत्ति विरुद्ध जनताहरुले जनप्रतिनिधि तथा सरकारलाई विरोध गर्ने अथवा गाली गर्नु स्वभाविक बन्न सक्छ ।’
उनले पञ्चायती शैलीमा दलाल पुँजीवादीहरूले अहिलेको सरकार पनि चलाउँदै गएको बताए । ‘श्रीलंका र बङ्गलादेशको अवस्था आउनेमा दुइमत छैन । त्यसैले सरकारले जनमुखी बन्न सक्नुपर्छ’ उनले भने ।