धनगढी – सुदूरपश्चिम प्रदेशस्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडल सिजन चारमा मिडिया पार्टनरका रूपमा सनराईज टेलिभिजनले सहकार्य गर्ने भएको छ ।
एसईई आइडल आयोजक संस्था प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका अध्यक्ष प्रकाशबहादुर छेडाल र सनराईज टेलिभिजनका प्रवन्ध निर्देशक अत्तम थापाले आज सहकार्यसम्बन्धी सम्झैता पत्रमा हस्ताक्षर गरेका हुन ।
प्रतिभा पहिचानको यात्रामा लामो समय देखी आफुले एसईई आइडलको माध्यम बाट कलाकारितालाई उजागर गरिरहेको र सुदूरपश्चिमको चर्चित टेलिभिजनसँग जोडिन पाउनु गर्वको कुरा भएकाले प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका अध्यक्ष प्रकाशबहादुर छेडालले बताए ।
यसैगरी यो कार्यक्रम प्रभात मिडिया एण्ड इभेन्ट प्रालिको मात्र नभई कला क्षेत्रलाई माया गर्ने सबैको भएकाले सबैको सहयोग लिइने र सहकार्य गरिने अध्यक्ष छेडालले बताए ।
गत तीन संस्करणको भव्य सफलतापछि सुरु भएको एसईई आइडलको चौथो संस्करणको सुदूरपश्चिमका ९ जिल्लाका ३० भन्दा बढी स्थानमा अडिसनमा आयोजना गरिनेछन् ।
यसवर्ष एसईई दिने विद्यार्थीहरूले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत वर्षजस्तै नृत्य र गायन प्रतिभाहरूले आफ्नो प्रतिभा प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् ।
असोजदेखि फागुनसम्म सुदूरपश्चिममा ९ जिल्लाभरि नै अडिसन प्रतियोगिताहरु सञ्चालन हुनेछन्, जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०÷३० जना प्रतिस्पर्धीहरूले २०८२ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५÷१५ जना प्रतिस्पर्धीहरूले ०८२ असार १ गते हुने फाइनलमा प्रवेश पाउनेछन् ।
फाइनलबाट दुवै विधामा १÷१ जना विजेता र १÷१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उपविजेताले क्रमशः ७५÷७५ हजार र ३५÷३५ हजार रुपैयाँसहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् ।
साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धीहरूले कक्षा ११÷१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । थप अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन इच्छुक विद्यार्थी तथा विद्यालयहरूलाई सम्पर्क गर्न समेत अध्यक्ष छेडालले अनुरोध गरेका छन ।