शान्तिप्रसाद जोशी धनगढी – सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले स्वागत मन्तव्य राख्न नपाउँदा गुनासो पोखेकी थिइन् ।
सोमबार प्रदेश सभा स्थापना दिवसको अवसरमा मन्तव्य राख्ने क्रममा उनले प्रदेश सभाको आयोजनामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्न नपाएको गुनासो गरेकी थिइन् । उपसभामुख कोइलीदेवीले महिला भएकै कारण आफूलाई स्वागत मन्तव्य राख्न नदिएको बताइन् ।
उनले भनिन् –‘कार्यक्रमको नियमअनुसार हरेक कार्यक्रममा स्वागत मन्तव्य भनेको उपाध्यक्ष अथवा उपसभामुखले राख्ने हो । तर सुदूरपश्चिम प्रदेश सभाको आयोजनामा भएको कार्यक्रममा स्वागत मन्तव्य सचिवले राखे । मैले कार्यक्रमको कार्यतालिका हेर्दा पटक–पटक प्रदेश सभामुखलाई आफूले स्वागत मन्तव्य राख्न पाउनुपर्छ भनेर अनुरोध गर्दा भने कुनै सुनवाई भएन ।’ उनले आफू महिला भएकै कारण पटकपटक हेपिनुपरेको समेत गुनासो पोखिन् । उनले विगतको इतिहास सुनाउँदै आफू सांसद रहेको अवस्थामा हरेक मन्त्रालयमा महिलासम्बन्धी योजना तथा अन्य कुरामा बुझ्न जाँदा समेत उचित रुपमा सम्मान र सही सल्लाह पाउने नगरेको गुनासो पोखिन् ।
उनले महिलाहरूलाई एउटा खेलौनाको रुपमा प्रयोग गर्ने पुरानै प्रवृत्ति अहिले पनि चलिआएको र यो उचित नरहेको हुँदा यो प्रवृत्ति हट्नुपर्ने सुझाव समेत व्यक्त गरिन् । हरेक समानुपातिकबाट आउने महिला प्रतिनिधि तथा पिछडिएको वर्गलाई हेर्ने नजर फरकै रहेको तर प्रत्यक्ष प्रणालीमा निर्वाचन हुने बेला समानुपातिक महिलाहरूकै सबैभन्दा ठूलो हात रहने र उनीहरूकै कारण प्रत्यक्षरूपमा अगाडि आउने निर्वाचित जनप्रतिनिधिहरू जित्दै आएको इतिहाससमेत आफूसँग रहेको उनको भनाइ रहेको थियो ।