प्रधानमन्त्री ओलीको सुदूरपश्चिम भ्रमण: कानुन नमान्नेहरुले देशलाई अस्थिरतातिर लग्ने प्रयास गरिरहेका छनः प्रधानमन्त्री ओली

धनगढी– आइतबार हेलिकोप्टरमा प्रधानमन्त्री खडकप्रसाद (केपी) शर्मा ओली धनगढी पुगे । सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गरेको दिक्षान्त समारोहको समुद्घाटन गर्न आएका प्रधानमन्त्री ओलीको १ बजे सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको थियो । तर, दिक्षान्त समारोहमै ढिलाई भएपछि बैठक झण्डै दुई घण्टा बढी ढिला गरि शुरु भयो ।

प्रधानमन्त्रीले बैठकलाई संवोधन गरेपछि धनगढीमा करोडौं लगानीमा बनेको धनगढी नगर सभा समुदघाटन गर्ने कार्यतालिका रहेको थियो । दिउँसो १२ बजेदेखि सुदूरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारीसहित प्रदेश सभा सदस्यहरु स्वागत गर्ने तयारीमा जुटेका थिए । चार बजेपछिमात्र सचिवालय पुगेका प्रधानमन्त्री ओलीलाई सलामीपछि मुख्यमन्त्री कमल शाहले स्वागत गरी बैठक कक्षमा प्रवेश गरेका छन् ।

तर, हरेक बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन भने प्रत्यक्ष प्रशारण गरेन । प्रदेश सभा सचिवालयले सचिवालयको आधिकारीक युट्युब च्यानलबाट हुने प्रत्यक्ष प्रशारण रोकेको छ ।

जबकी प्रदेश सभा सचिवालयले दैनिकजसो बैठकहरु प्रत्यक्ष प्रशारण गर्दै आएको छ । संसदमा हुने गतिविधी प्रत्यक्ष प्रशारण गर्ने प्रचलन भएपनि सुदूरपश्चिममा भने प्रधानमन्त्रीकै सम्बोधनमा रोकिएको हो । सचिवालयले नेपाल टेलिकमको अप्टिकल फाईबर लाइन काटिएका कारण इनटरनेटमा समस्या आएकाले प्रधानमन्त्रीको प्रत्यक्ष प्रशारण रोकिएको दाबी गरेको छ तर नेपाल टेलिकम धनगढीले भने अहिलेसम्म कतै अप्टिकल फाईबार नकाटिएको जनाएको छ ।

प्रदेश सभामा संवोधन गरेको प्रत्यक्ष प्रशारण नगरिएपनि सचिवालयका सूचना अधिकारी युवराज जोशीको टिकटकमा प्रदेश सभा सचिवालयले प्रधानमन्त्री ओलीलाई मायाको चिनो प्रदान गरेको कार्यक्रमलाई टिकटकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । त्यसपछि उनको संबोधन प्रदेश सभाको आधिकारिक पेजमा राखियो ।

झण्डै ५८ मिनेट प्रधानमन्त्री ओलीले सभामा संबोधन गरे । प्रधानमन्त्रीले अधिकाँस समय एतिहासिकता बोकेको स्थलका रुपमा सुदूरपश्चिमलाई ब्याख्य गर्नमै व्यत्तित गरे । संवोधनका क्रममा प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई देबभुमिदेखि जडिबुटीको सम्भावना बोकेको प्रदेश रहेको बताए । ‘जैविक विविधताले सुदूरपश्चिम भरिएको ठाउँ हो यो’ उनले भने –‘उग्रतारादेखि थुप्रै खालका रमणीय स्थल, एतिहासिक स्थल बोकेका थुप्रै ठाउँछ ।’

उनले सुदूरपश्चिम प्रदेशलाई सडक सञ्जालसंग जोडन थुप्रै कार्य अघि बढाएको बताए । ‘यसै वर्षदेखि यहाँ मेडिकल इन्स्टिच्युटका रुपमा अघि बढाउँछु । विश्वविद्यालय स्थापना गर्नुपर्छ भन्नेमा म पनि सहभागि थिए । मैले १० लाख दिन्छु भनेको थियो । मैले त्यो सयमा ५० हजार रकम दिए’ उनले भने –‘साढे नौ हजार मैले अझै तिर्न बाँकी छ । म व्यक्तिगत ढंगले पनि यो क्षेत्रको विकासका लागि लागेको छु ।’

‘पार्टीहरुको योजना र कार्यक्रमहरु आउन भनेर संयन्त्र बनाएका छौं । समय–समयमा सबै राजनीतिक दलहरुसंग बढी परामर्श गरिरहेको छु तर, एउटा नराम्रो संस्कृति शुरु भएको छ’ उनले भने –‘हाम्रो देश सभ्य देश हो । उत्कृष्ट संस्कृति भएको देश हो । बोल्ने भाषा सभ्य थियो । सालिनता, बिनम्रता, सभ्यता भएको देश हो ।’

उनले अहिले झुठ बोल्ने, भ्रम फैलाउने, तथ्य हिन कुरा गर्ने लगायत असभ्यतातर्फ देशलाई धकल्ने काम भइरहेको बताए । ‘समाजको सभ्यता विग्रियो भने र संस्कृति मेटियो भने सामाजिक सदभाव बिग्रन्छ । यो भयो भने सुधार गर्न वर्षौसम्म सकिदैन’ उनले भने –‘सामाजिक मूल्यमान्यता विग्रार्ने शक्तिहरुलाई रोक्न जरुरी छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति सुन्दा आफु अचम्मति भएको बताउँदै ‘संविधान र कानुनका कुरा गर्नु हुन्न् । म आउँछु देश सुधार्छु । मलाई साथ दिनुहोस भन्नु हुन्छ । राजनीतिमा आउनु होस् उम्मेदवार बन्नुहोस् । उहाँ कहाँ आउनु हुने हो ? राजनीतिमा आउने हो कि के मा आउने ? उम्मेदवार हुनुहुन्छ र मत माग्नु हुन्छ भने मतदानमा सहयोग गर्छु । राजालाई के मा साथ दिने हो स्पष्ट बुझिएन । देशलाई जातका नाममा, भुगोलका नाममा जनतालाई विभाजित गर्ने काम भयो । जातिय, धर्म लगायतका भाषामा राष्ट्रलाई कमजोर बनाउन शक्ति लागेको छ ।’ उनले कसैले उपहार दिएर ल्याइएको संविधान नभएको बताउँदै –‘सबै जाती, धर्म, भुगोल लगायत सम्पूर्ण बर्ग समुदायको भावना समेटेर बनेको संविधान हो । त्यसमाथि प्रहार गर्ने ? यसको रक्षा गर्नु सबैको कर्तव्य हो ।’

उनले कतै फाँटोबादी प्रवृति छन् । कतै देशलाई अस्थिरता तर्फ धकेल्ने शक्तिहरु लागेका कारणनै नेपाली काँग्रेस र नेकपा एमालेको सरकार सुशासनका लागि बनेको बताउँदै –‘यो सरकार अहिले ढल्छ, भोलीनै ढल्छ, रातीनै ढल्छ भन्ने हल्लाको पछि नलाग्नुहोस । यो सरकार अस्थिरता हटाउन बनेको हो ।’

उनले अब १६ महिना प्रधानमन्त्रीमा नेपाली काँग्रेसका नेता शेरबहादुर बन्ने बताए । उनको नेतृत्वमै चुनाव हुने र चुनाबबाट निर्वाचित भएका व्यक्तिहरुबाट नयाँ सरकार गठन हुने बताए । देशलाई प्रतिगमनतिर जान नदिन सबै दलहरुको एक आवाज हुन जरुरी रहेको बताए । उनले भने –‘अराजकता बाटोबाट हिँडेर केही व्यक्तिहरु केही पाउँछु की भनेर लाग्नुभएको छ भने त्यो भ्रममा नपर्न म अनुरोध गर्दछु ।’

उनले सुदूरपश्चिम प्रदेशको बजेट, नीति तथा कार्यक्रममा संघिय सरकारले हष्तक्षेप नगर्ने बताउँदै –‘बरु सुझाव दिन्छौं । बजेट निर्माणमा सहयोग गर्छौ । तर, हामी कुनै हष्तक्षेप गर्दैनौं ।’

पञ्चेश्वर अगाडि बढ्छ, गेटामा मेडिकल विश्वविद्यालय बन्छ: प्रधानमन्त्री ओली

प्रधामन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम सम्भावनाले निकै अगाडि रहेको बताए । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले प्रचुर सम्भावना हुँदा पनि प्रदेश पछाडि रहेको भन्दै अब त्यस्तो परिचय बदल्नु पर्ने अवस्था रहेको टिप्पणी गरेका हुन् । यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नु पर्छ ।’

दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लाग्नु पर्ने उनको भनाइ थियो । दार्चुला उत्तरी क्षेत्रसम्म पुग्न सकस भएको भन्दै छाङग्रुसम्म पुग्ने सडक निर्माण सुरु गरिएको बताए ।

‘अहिले पाँच करोड विनियोजन गरेका छौं । पारीको बाटोबाट जाँदा नेपालीहरुले दुःख पाएका छन् । अहिले गोरेटो बाटो निकालेपछि पक्की सडकको लागि बजेट विनियोजन गरेर तक्लाकोटसम्म जाने बाटो बनाउँछौं’, उनले भने ।

गेटामा मेडीकल विश्वविद्यालय बनाउन यही वर्षबाट पढाइ सुरु हुने प्रधामन्त्री ओलीले दाबी थियो । पञ्चेश्वर परियोजनाको अगाडि बढाउन भारतसँग छलफल भइरहेको प्रधामन्त्री ओलीले बताए ।

आफू प्रधामन्त्री हुँदा मुलुकमा विकासले गति पाइरहेको उनले भनाइ थियो । हुलाकी सडक, दोधारा चाँदनी औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह निर्माण प्रारम्भ गरेको प्रधामन्त्री ओलीले बताए ।

सुदूरपश्चिम देव भूमि रहेको भन्दै उनले यहाँका मोठमंदिर, धार्मिक क्षेत्र पौराणिक क्षेत्र सबैको महत्व रहेको बताए । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट एक हजार तीन सय ७७ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहबाट सो संख्यामा विद्यार्थी दीक्षित भएका हुन् ।

धनगढी सभागृहको समुदघाटन

संघिय सरकारको करोडौं लगानीमा बनेको धनगढी सभागृहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन ।

आइतबार एक समारोहकाबिच उनले समुदघाटन गरेको शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले जनाएको छ । सहरी विकासका इन्जिनियर पुष्प भट्टले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सभा गृह हस्तान्तरण गर्दै उदघाटन गरिएको बताए ।

संघीय सरकारले ३२ करोड २५ लाख ९७ हजारको लागतमा सभा गृह निर्माण गरेको हो । सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण कम्पनीले २०७९ असार २४ गते ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो । सहरी विकासले प्रधानमन्त्री ओलीमार्फत धनगढी उपमहानगरपालिकालाई सञ्चालनको लागि आइतवार सभा गृह हस्तान्तरण गरेको थियो । सभा गृह सञ्चालनका लागि आवश्यक फर्निचर लगायतका उपकरण जडान नभएको भन्दै उपमहानगरपालिकाले बुझ्न मानिरहेको थिएन ।

सभा गृह सिटी हल बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको हो । धनगढी उपमहानगरपालिका–८ मा एक बिघा क्षेत्रफलमा सभा गृह निर्माण गरिएको छ । सभा गृहको मुख्य हलमा सात सय ५३ जनाको क्षमता रहेको छ । दोस्रो तालिम हलमा दुई सय १० जनाको क्षमता रहेको छ । सभा गृहमा ४६ वटा कारहरू र ९८ वटा मोटरसाइकल एक साथ प्राकिङ्ग गर्न सकिने छन् । विशिष्ट व्यक्तिका लागि खाना खाने ठाउँ पनि सभा गृहमा निर्माण गरिएको छ । सभा गृह भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको हो ।

ad_wide