काठमाडौँ - निर्माण व्यवसायीले आफूहरूको बक्यौता रकम तत्काल भुक्तानी नगरे सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष शकुन्तलाल हिराचनलगायतका व्यवसायीले निर्माण व्यवसायीको सबै बक्यौता रकम तिहारअघि पनि भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन्।
महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको सातौँ स्मृति दिवसको अवसरमा पारेर बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सिंहले तिहारअगावै आफूहरूको सबै बक्यौता रकमको भुक्तानीसहित ती साढे ६ अर्बका आयोजना अघि बढाउने काम गर्न सरकारलाई दबाब दिए। सरकारले मुलुकको अर्थतन्त्रलाई सहज ढंगले चलायमान बनाउनुपर्ने उनले बताए।
अध्यक्ष सिंहले भने‚ ‘जटिल परिस्थितिमा निर्माण उद्योग छ। यसले गर्दा तमाम निर्माण व्यवसायीहरू संकटमा छौँ। हामी आशा गर्छौँ– तिहारअगावै हाम्रो बक्यौता रकमको भुक्तानीसहित ती साढे ६ अर्बका आयोजनालाई संकुचनमा गरेर सरकारले आफ्नो क्षमतामा ल्याउनेछ।’
महासंघका पूर्वअध्यक्ष शकुन्तलाल हिराचनले पनि तिहारअगाडि आफूहरूको सबै बक्यौता रकम भुक्तानी नभए सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए। उनले निर्माण व्यवसायीहरूको समस्या समाधान गरेर अघि बढे त्यसले सरकारलाई चार गुणा बढी फाइदा दिने दावी समेत गरे।
कार्यक्रममा स्वर्गीय गौचनले निर्माण व्यवसायको क्षेत्रमा पुर्याएको योगदान स्मरण गरिएको थियो।