बझाङ – बझाङका भूकम्प प्रभावित परिवारले अस्थायी आवास निर्माणको दोस्रो किस्ताको रकम अझै पाउन सकेका छैनन्।
गत वर्ष वैशाखमा नगरपालिकाले भूकम्प प्रभावित १८७ घरपरिवारलाई पहिलो किस्ताका रूपमा प्रतिपरिवार २५ हजार रुपियाँ उपलब्ध गराएको थियो। अस्थायी आवास निर्माण गरेपछि दोस्रो किस्ता उपलब्ध गराउने भनिए पनि १७ महिना बितिसक्दासमेत पीडितले उक्त रकम पाएका छैनन्।
भूकम्प प्रभावित परिवारमध्ये केहीले गत फागुनमा र केहीले गत वैशाखमा पहिलो किस्ताको रकम पाए पनि दोस्रो किस्ता अझै भुक्तानी भएको छैनन्। भूकम्प प्रभावितले अस्थायी आवास निर्माण गरेर आवश्यक कागजात नगरपालिकामा बुझाए पनि रकम नपाएको गुनासो गरेका छन्। बुङ्गल नगरपालिका–५, ब्युनाडाका रामबहादुर विकले दोस्रो किस्ता रकम नपाउँदा कतिपय अस्थायी आवास अधुरै रहेका बताए। निर्माण सम्पन्न गरेका परिवारले साहुसँग लिएको ऋण तिर्न नसकेको उनले बताए।
२०८० असोज १६ र २० गते गएको भूकम्पले भत्काएका घर पुनर्निर्माण गर्न नसक्दा प्रभावित परिवार अस्थायी टहरामै बस्न बाध्य छन्। लगातार दुई वर्षको जाडो टहरामै कटाउनु परेको पीडितको गुनासो छ।