बुधबार, जेष्ठ १, २०८२

बस्ती र उर्बर भूमि जोगाउन तटबन्ध निर्माण कार्य सुरु

माधव पौडेल,

कञ्चनपुर–  कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण कार्य सुरु गरिएको छ । कटानीको उच्च जोखिममा रहेको दोदा नदीमा तटबन्ध निर्माण कार्य सुरु गरिएको हो । चुरे भएर दक्षिणतर्फ बग्ने दोदा नदीले हरेक बर्षातका बेला लालझाडी गाउँपालिकामा बढी क्षति पुर्‍याउँदै आएको छ । आउँदो वर्षात आउन करिब ४ महिना अगावै दोदा नदीको उच्च कटानी प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गर्न लागिएको हो । दोदा नदीले सबैभन्दा बढी लालझाडी, बेलौरी र पुनर्वासका केही वडामा विपद् जोखिम निम्तिए पछि सरकारी निकायले समेत उच्च प्राथमिकताका साथ तटबन्ध निर्माणको योजना अघि सारेको छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्ष २०८१।०८२ मा दोदा नदीमा ८ सय ५० मिटर लम्बाई र ५ मिटर जति उचाइको तटबन्ध निर्माण गर्न लागेको छ ।

जनताको तटबन्ध कार्यालय कञ्चनपुरका इन्जिनियर करुणाकर पन्तले लालझाडी गाउँपालिका १ वडा कटानी उच्च प्रभावित क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको बताउनु भयो । इन्जिनियर पन्तका अनुसार निर्माणको कार्यले पुनर्वास नगरपालिकाको सिमरी गाउँ डुबान र हुलाकी सडकलाई दोदा नदीको प्रकोप नियन्त्रणमा मद्दत पुग्ने छ । अमृत कन्ट्रक्सनले ८ सय ५०  मिटर तटबन्ध निर्माणको जिम्मा पाएको छ । तटबन्ध निर्माणका लागि ५ करोड २४ लाख ९० हजार ११ रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्नका लागि एक वर्षको समय सीमा दिइएको छ । अमृत कन्स्ट्रक्सनका सञ्चालक पदमराज बोहराले समयमै गुणस्तरीय काम गर्ने प्रतिबद्धता जाहेर गर्दै कार्यालयसँग सम्झौता भए अनुरूप काम गर्ने बताउनुभयो ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले लालझाडी क्षेत्रमा पर्ने दोदा नदी नियन्त्रणका लागि सङ्घीय र प्रदेश सरकारसँग पालिकास्तरबाट पहल कदमी भइरहेको बताउनु भयो । लालझाडी गाउँपालिका विपद्को उच्च जोखिममा रहेकोले निरन्तर कटानी रोक्नका लागि योजना अगाडि बढाएको अध्यक्ष रानाले सुनाउनु भयो । तटबन्ध निर्माण भएसँगै लालझाडीको उर्बर भूमि कटानीबाट जोगिने र किसानहरू प्रत्यक्ष लाभान्वित हुने उहाँले बताउनुभयो । यस अघि जनताको तटबन्ध कार्यक्रम अन्तर्गत लालझाडी गाउँपालिकाको वडा नम्बर १ र २ को केही क्षेत्रमा तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ ।

ad_wide