बैतडी जिल्लामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ५ ओटा क्याम्पसको स्ववियु चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ। जस अनुसार, ३ क्याम्पसमा अनेरास्ववियु र २ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएका छन्। यसमा २ क्याम्पसमा सहमति र ३ क्याम्पसमा निर्वाचनबाट सभापति चयन गरिएको हो।
दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका नवीन कपाडी स्ववियु सभापतिमा निर्वाचित भएका छन्।
शिवनाथ गाउँपालिकामा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा नेविसंघबाट कविता साउँद सभापतिमा विजयी भएकी छिन्।
डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका कृष्णसिंह रावल विजयी भएका छन्।
यस्तै, दशरथचन्द नगरपालिकामा रहेको शिक्षा क्याम्पस शाहीलेकको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्बर चन्द निर्विरोध निर्वाचित भएका छन्।
पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पस कुलाउमा पनि अनेरास्ववियुकी सपना चन्द निर्विरोध निर्वाचित भएकी थिइन्।
जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८ ओटा क्याम्पस रहेका भएपनि रौलाकेदार बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भएको छैन। पुर्चौंडी बहुमुखी क्याम्पसमा आज निर्वाचन हुँदैछ भने सिगास शिक्षा क्याम्पसमा विवाद भएको छ।