बैतडीकी १४ वर्षीया किशोरीले जन्माइन जुम्ल्याहा शिशु

बैतडी- बैतडीकी १४ वर्षीया एक विवाहित किशोरीले जुम्ल्याहा शिशुको जन्म दिएकी छन् ।

भाद्र २६ गते डडेल्धुरा अस्पतालमा पाटन नगरपालिकाकी १४ वर्षीया किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् । अस्पताल स्रोतका अनुसार भाद्र २६ गते बिहान ८ः५३ बजेको समयमा पहिलो र ८ः५९मो दोश्रो सन्तानको जन्म भएको डडेल्धुरा अस्पतालले जनाएको छ । पहिलो सन्तान १ किलो ९ सय ग्राम र दोश्रो सन्तानको तौल १ किलो ७५० ग्राम रहेको बताइएको छ ।

शिशुहरुलाई आइसियु वार्डमा राखिएको छ । दुवै शिशुको अवस्था सामान्य बन्दै गएको डडेल्धुरा अस्पतालकी बरिष्ठ अस्पताल नर्सिङ निरिक्षक बालकुमारी बस्यालले जानकारी दिइन् । ‘किशोरीलाई नर्मल डेलिभरी गराउन सफल भएका छौँ, दुवै शिशुको अवस्था सामान्य बन्दै गइरहेको छ, आमा पनि स्वस्थ छिन् ।’ बरिष्ठ अस्पताल नर्सिङ निरिक्षक बस्यालले बताइन ।

१४ वर्षको उमेरमा जुम्ल्याहा सन्तान जन्माएको घटना एकदमै दुर्लभ रहेको छ । गत वर्ष मात्रै प्रेम बिवाह भएको र यस वर्ष दुवै शन्तानको सकुसल जन्म दिएको किशोरीका १७ वर्षीय श्रीमानले जानकारी गराएका हुन् । ‘हाम्रो प्रेम विवाह भएको एक वर्ष भयो, अहिले जुम्ल्याहा छोराको जन्म भएको छ,।’ उनले भने ।

२० वर्ष उमेर नपुगेका महिलामा पाठेघरको विकास राम्रोसँग नहुने भएपनि १४ वर्षको उमेरमै जुम्ल्याहा बच्चाको जन्म दिएको घटना दुर्लभ मानिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए । बैतडीमा मात्रै बिगत २ वर्षको अवधिमा २० वर्ष नपुगिकनै गर्भवति हुने महिलाको संख्या करिब ५ सय रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।

ad_wide