भाषणमा सिमित हमालको सुशासनः धनगढीमा पर्खाल बनाउन गुणस्तरहिन ईट्टा प्रयोग

शेरबहादुर ऐर/धनगढी– इट्टाहरुको चाङ्ग छ । केही टुटेर धुलो बनेका छन् भने केही टुक्रा–टुक्रा भएका छन् । दृष्य धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित खुल्ला मञ्च नजिक निर्माणाधिन ‘पर्खालको हो ।’

धनगढीको शहिदगेटदेखि क्याम्पसरोड जोड्ने सडकको छेउमा निर्माण गरिन लागेको पर्खालमा गुणस्तरहिन ईट्टा प्रयोग भइरहँदा सम्बन्धित निकायले अनुगमन तथा नियन्त्रणमा ध्यान दिन सकेको छैन् ।

धनगढी उपमहानगरपालिकाले एशियन विकास बैंकको सहयोगमा शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत काम भइरहेको भन्दै पन्छिएको छ ।

धनगढीका इन्जिनियर द्धिजराज भट्टले कालिका कन्स्ट्रक्सनले सो पर्खाल निर्माण कार्य भइरहेको र सो कार्य शहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीबाट सञ्चालित रहेको बताए । उनले भने –‘हामीले सो योजनाको अनुगमन गरेका छैनौंं ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले सो सडकमा बनिरहेको पर्खालबारे आफुलाई जानकारी नभएको बताए । उनले भने –‘पर्खाल निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग गर्न पाइदैन् । यसको अनुगमन गर्ने र नियमन गर्ने कार्य स्थानीय तहको पनि हो । शहरी विकासको योजना भनेर कसैले पन्छिन पाउँदैन ।’

उनले आफुहरु सो स्थानमा पुगेर प्रयोग भइरहेका गुणस्तरहिन निर्माण सामाग्रीलाई हटाउन लगाउने बताए ।

बिहिबारमात्र धनगढी नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानाले सो खुल्लामञ्चमा धनगढी उपमहानगरपालिकाको आयोजनामा भइरहेको सिप तथा रोजगार मेलाको समुद्घाटन समारोहमा त्यही थिए । तर, सो पर्खाल निर्माणमा गुणस्तरियता कायम भएको वा कम्सल इट्टा प्रयोग भइरहेकोबारे ध्यान दिएनन् ।

धनगढीमा सञ्चालन भइरहेका योजनाहरुको निर्माणमा कमसल हुन नदिन अनुगमन गर्नुपर्ने अधिकार क्षेत्र नगर उपप्रमुखको हो । तर, उनी सो दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीकै स्वागतमा उनी व्यस्त भइन् ।

यसरी नै पर्खाल निमार्ण हुने हो भने अहिले बनाइएको संरचना लामो समयसम्म नटिक्ने गुनासो धनगढीबासीको रहेको छ । विगतमा निर्माण भएका कैयौं भौतिक संरचनाहरुमा कम्सल खालका सामग्री प्रयोग भएर निर्माण सम्पन्न भएको केही समयमै भत्किने गरेका उदाहरणहरु धेरै छन् । निर्माणस्थलमा कमसल खालका ईट्टा फेला परेकै अवस्थामा पर्खालमा पनि कमसल खालको सामग्री प्रयोग भएन भनेर विश्वास गर्न जनतालाई त्यति सजिलो छैन् ।

सामाजिक सञ्जालमा विकास, शुशासन र पारदर्शीका ठुल–ठुला भाषण गर्दै आएका नगर प्रमुख हमालकै आँखा अगाडि ‘विर नामक’ गुणस्तरियहिन इट्टा प्रयोग गरि पर्खाल निर्माण भइरहँदा उनी मौन बसेका छन् । खुलेआम यसरी गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरि सरकारी संरचना बनिरहँदा निर्माण व्यवसायी तथा निर्माण कम्पनिहरुका योजनाहरुको अनुगमन उपमहानगरपालिकाले गर्न सकेको छैन् ।

ad_wide