सनराईज टिभिन्युज काठमाडौं– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीस्थित एक घरमा मिनबहादुर भ्लोन र उनकी पत्नी देवीमायाले बाँधेर चुटेका व्यक्ति चोर नभई आफ्नै छोरा निस्किएका छन्।
६४ वर्षीय मिनबहादुर र ६३ वर्षीया देवीमायाका छोराहरू काठमाडौं र अन्य ठाउँमा बस्छन्। दुई वर्षदेखि उनीहरू कोही पनि गाउँ फर्किएका थिएनन्।
बिहीबार राति करिब ८ बजेको समयमा खाना खाने तयारी गरिरहेका बेला एक अपरिचित पुरुष घरभित्र प्रवेश गरे। अनुहारमा मास्क लगाएका ती व्यक्ति ३०–३५ वर्षको जस्तो देखिन्थे। उनीहरूलाई नचिनेपछि दम्पती आत्तिए।
ती व्यक्तिले अकस्मात् मिनबहादुर र देवीमायातर्फ खुर्सानीको धुलो फ्याँके। यसपछि, उनीहरूलाई चोर आएको शंका लाग्यो र प्रतिवादमा उत्रिए।
बुढाबुढीले भान्सामा जे भेटिन्छ त्यहीले ‘चोर’ माथि आक्रमण गरे। आत्मरक्षाका लागि गरिएको आक्रमणपछि मास्क लगाएका व्यक्तिले पनि प्रतिकार गरे। दुई पक्षबीच घम्साघम्सी भयो।
अन्ततः दम्पतीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर बाँधिदिए र प्रहरीलाई खबर गरे।
‘हामीले चोर समातेर राखेका छौं, चाँडो आइदिनुहोस्,’ भन्दै प्रहरीलाई फोन पुग्यो।
प्रहरी चौकी सिस्नेरीबाट असई रामप्रसाद यादवको नेतृत्वमा टोली घटनास्थलतर्फ खटियो। घटनास्थल करिब ४–५ किलोमिटर दूरीमा थियो। प्रहरी पुगेका बेला ती व्यक्ति गम्भीर घाइते भइसकेका थिए।
टाउकोबाट रगत बगिरहेको थियो। मिनबहादुरको हात, मुख, टाउकोमा चोट लागेको थियो भने देवीमायाको आँखा र हातमा पनि चोट थियो।
प्रहरीले तिनै जनालाई उद्धार गरी हेटौंडा अस्पताल पु¥यायो। त्यहाँबाट गम्भीर घाइते व्यक्तिलाई थप उपचारका लागि राति १ः४५ बजे चितवनको भरतपुर अस्पताल रेफर गरियो।
ती व्यक्तिको टाउको फुटेको र रगत जमेको देखिएको छ। ‘उहाँको अवस्था गम्भीर छ। अनुसन्धान जारी छ,’ प्रहरीले भनेको छ।
यता, मिनबहादुरको करङको हड्डी भाँचिएको छ। उनीहरू भने बोल्न सक्ने अवस्थामा छन् र हेटौंडा अस्पतालमै उपचाररत छन्।
शुक्रबार बिहान घटनास्थलमा थप अनुसन्धान गर्न पुगेको प्रहरी टोलीले घरबाहिर एउटा झोला फालेको अवस्थामा भेट्टायो।
झोला खोलेर हेर्दा भित्र एउटा पासपोर्ट फेला प¥यो। जब प्रहरीले पासपोर्ट जाँच गर्यो, त्यसमा मिनबहादुरकै ३९ वर्षीय जेठो छोरा भरथकुमार भ्लोनको नाम थियो।
भरथ दुई वर्षदेखि घर फर्किएका थिएनन्। प्रारम्भिक अनुसन्धानपछि प्रहरीलाई घटनामा संलग्न व्यक्ति आफ्नै छोरा भएको खुल्यो।
‘मास्क लगाएर आएको हुनाले नचिनेको बताएका थिए। अहिले आमाले हेरेर भरथ भन्ने छोरा नै हो भन्नुभएको छ,’ प्रहरी अधिकारी भन्छन्, ‘तर उनी किन आएका थिए भन्ने अझै खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको छ।’
भरथ चोरी गर्न नै आएका थिए वा अरू कुनै कारणले घर आएका थिए भन्नेबारे पनि अनुसन्धान जारी छ। घटनास्थलबाट प्रहरीले एउटा मोबाइल पनि बरामद गरेको छ।
भरथका परिवार काठमाडौंमा बस्ने भएकाले प्रहरीले उनीहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ, तर अहिलेसम्म सम्पर्क हुन सकेको छैन।