हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको भएको छ। पीडित महिलाले १ कात्तिकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन्।
३० असोजमा मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। पीडित महिलाले ३० असोज रातको समयमा ६० वर्षीय श्रीमान र १९ र २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको उजुरीमा बताएकी छन्।
प्रहरीले श्रीमानलाई १ कात्तिकमा पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ। आरोपित दुई युवा भने फरार रहेका छन्। डीएसपी अर्यालका अनुसार पीडित महिलाले दुई किशोरको अन्दाजी उमेर १९ र २० वर्ष हुनसक्ने बताए पनि पहिचान गर्न नसकेको बताएकी छन्।
‘महिलाले श्रीमानसहित दुई जना किशोरले बलात्कार गरेको बताइन । किशोरहरुलाई आफू नचिन्ने उनले बताएको र दोषी पत्ता लगाउन घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको डीएसपी अर्यालले बताएका छन ।
पीडित महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ। उनको स्वास्थ्य अवस्था ठीक रहेको डिएसपी अर्यालले बताए। उनका अनुसार पीडित महिलाले ३ वर्षअघि मात्रै दोस्रो विवाह गरेकी थिइन्।