धनगढी: नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री भएका लक्ष्मण किशोर चौधरीलेको ‘विवादित अडियो’बारे अहिले पार्टीले पनि चासो देखाएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका चौधरीले केही दिन पहिले आर्थिक चलखेल गर्न खोजेको सङ्केत देखिने अडियो सार्वजनिक भएको थियो । दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आफू अनुकूल बनाएर ठूलो आर्थिक लाभ लिन सकिने विषयमा काठ व्यवसायी र सचिवालयका कर्मचारीसँग गोप्य छलफल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीलाई मुख्यमन्त्री कमल बहादुर शाहले शनिवार राजीनामा दिन निर्देशन दिएका थिए । त्यस लगत्तै मन्त्रीले राजीनामा दिएका थिए ।
चौधरीले राजीनामा दिएको भोली पल्टै नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठ, संरक्षक रेशम चौधरी, संसदीय दलका नेता गङ्गा चौधरी, प्रमुख सचेतक लालवीर चौधरी र नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री अरुण चौधरी धनगढी पुगेका थिए । अध्यक्ष संरक्षकसहित केन्द्रबाट आएको पुरै सांसदको टोलीले सुदूरपश्चिम प्रदेश सभामा आफ्ना सांसदहरूसँग विवादित अडियो र मन्त्रीको अवस्थाबारे जानकारी लिएका छन् । मन्त्रीको प्रसङ्गमा छलफल भइरहँदा राजीनामा दिएका मन्त्री भने बैठकमा थिएनन् ।
‘मैले उहाँलाई खबर गरेको थिए स्वास्थ्य अवस्थाका कारण उहाँले आउन नसक्ने बताउनु भएको थियो’ नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले बैठकमा सुनाए । दिउँसो तीन बजेदेखि करिब तीन घण्टासम्म चलेको बैठकमा नागरिक उन्मुक्ति पार्टीका करिब सबै सांसदहरूले आफ्नो धारणा राखेका थिए । उनीहरुले मन्त्री हुँदा सार्वजनिक भएको अडिओबारे प्रस्ट हुनुपर्नेमा जोड दिए । ‘अडियो रेकर्डबारे सबैभन्दा धेरै छलफल भयो । धेरैले त्यस विषयमा चासो राख्नु भयो सम्बन्धित सांसद उपस्थित नभएको हुँदा त्यस विषयमा कुनै निष्कर्ष आएन’, छलफलमा सहभागी एक सांसदले भने, ‘अडियो रेकर्डको विषयमा पार्टीले छानबिन गर्ने भनिएको छ।’
‘उहाँलाई स्पष्टीकरण सोध्छौँ स्पष्टीकरण चित्तबुझ्दो आयो भने त्यहि अनुसार हुन्छ चित्तबुझ्दो आएन भने कारबाही प्रक्रिया अगाडी बढ्छ ’ छानबिनको जिम्मा पाएका एक सांसदले भने ।
बैठकले संस्थापक सदस्य रामलाल डगौरालाई अनुशासन समितिको संयोजकको जिम्मेवारी दिएको थियो । अनुशासन समिति संयोजक डगौराले पनि अडियो रेकर्डबारे छानबिन हुने र दोषि देखिए कारबाही गरिने बताए।
केही महिना पहिले अनौपचारिक रुपमा गरिएको संवादलाई लिएर आफूलाई विवादमा तानेको बैठकमा चौधरीले खबर पठाएका थिए । लक्ष्मण किशोर चौधरीले राजीनामा दिएपछि अब नाउपाबाट को मन्त्री बन्ने भन्ने विषयले पनि सामान्य रुपमा चर्चा पाएको थियो । तर, त्यसको निर्णय केन्द्रीय समितिले गर्ने भएको छ ।
बैठकमा केन्द्रीय अध्यक्ष र संरक्षकको एउटै स्वर सुनिएको थियो । उनीहरुले पार्टीमा अराजकता मौलाएको भन्दै बसैलाई अनुशासनमा बस्न निर्देशन दिएका थिए ।
‘पार्टी विधिमा चल्नु पर्छ । सबै कुरा सामाजिक सञ्जालमा छरपस्ट पारेर हुँदैन । विमति भए पार्टी भित्रै राख्नु पर्छ’, सांसदहरूलाई सम्झाउँदै दुवैले भनेका थिए, ‘हामीबाट जनताले धेरै अपेक्षा गरेका छन् । हिजोसम्म जे जे भयो भने अब फेरी सबै मिलाएर अघि बढ्नु पर्छ ।’
बैठकमा जनमत पार्टीसँग हुने एकताबारे पनि छलफल भएको थियो । टिकापुरमा वार्ता बसेर एकताको विषयलाई अगाडी बढाइने सांसदहरूलाई नेताहरूले जानकारी गराएका थिए ।