बैतडी -कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार यात्रुवाहक बस डडेलधुराको खसरेकाेखानमा गएराति करिब १२ बजेको समयमा दुर्घटनामा परेको छ ।
पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका ३ बस्ने ४५ वर्षीया जैमति बोहरा, २२ वर्षीय सहदेव बोहरा, २० वर्षीया कमला बोहरा र कमला बोहराको नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बस्ने २५ वर्षीय दिनेश साउँद, वडा नं. ५ बस्ने ६५ वर्षीया धनमति साउँद, डडेलधुराको आलिताल गाउँपालिका १ बस्ने २१ वर्षीय मुकुन्द बोहरा, वडा नं. ६ बस्ने २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ७ बस्ने २४ वर्षीय नवराज साउँद, २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. ८ बस्ने ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक वीरेन्द्र बोहरा, वडा नं. १० बस्ने दामोदर महरा र धनबहादुर महरा तथा दार्चुलाको मार्मा गाउँपालिका ५ बस्ने ३४ वर्षीया विमला महता रहेका छन् ।
सामान्य र मध्यम घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरा सहित एकजनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उपेन्द्रबहादुर बमले सनराइज टेलिभिजनलाई जानकारी दिए । दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनको भनाइ रहेको छ ।