धनगढी- मानवसेवा आश्रमले धनगढीमा माघ २३ देखि ३० गतेसम्म आयोजना हुन लागेको श्रीमद् भागवत महायज्ञको तयारी अन्तिम तयारीमा पुगेको छ ।
मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश धनगढी कैलाली शाखाको भवन निर्माणका लागि भावनात्मक एवम् आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना गर्न लागेको ज्ञानविज्ञान महायज्ञको तयारी अन्तिम चरणमा रहेको महायज्ञ आयोजक समितिले जनाएको छ ।
२०७५ साल मंसिर १ गते सुदूरपश्चिम प्रदेशमा मानवसेवा आश्रमको शाखा कैलालीको धनगढी – ५ तारानगरमा घर भाडामा लिई शुभारम्भ भएको थियो । आश्रमको आफ्नो भवन अभाव हुँदा भाडाको भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता रहिआएको छ । अहिले धनगढी शाखाको आफनै भवन निर्माण गर्ने लक्ष्य राखी श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयोजना गर्न लागिएको जनाएको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन समेत गराउदै आएको छ । वि.सं. २०६९ साल भाद्र १३ गते समाजसेवी रामजी अधिकारीको पहलमा मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको आश्रमका अहिले देशभरी २६ ओटा शाखा कार्यालय रहेका छन् ।
आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । सोही लक्ष अनुसार सुदूरपश्चिमको सडक मानवमुक्त प्रदेश निर्माणकोलागी २ सय जना अटाउने धनगढीको उर्मीमा निर्माणाधिन भवन निर्माणको लागि महायज्ञ ठुलो सहयोगी हुनेमा आफु आशावादी रहेको र यस्मा उपस्थित भएर सहयोग गरिदिन समेत महायज्ञ मुल आयोजक समिति संयोजक मदन कुवँरले अनुरोध गरेका छन ।