धनगढी - मानव सेवा आश्रम कैलाली शाखाले एक युवकको उद्धार गरेको छ। अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नम्बर ८ रेडिकोट घर बताउने र आफ्नो नाम महापुरुष धामी बताउने वर्ष ३५ को एकजना बेवारिसे अवस्थामा उद्धार गरेको मानव सेवा आश्रमले जनाएको छ। उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ५ कबडहल नजिकबाट उद्धार गरिएको हो ।
उद्धार कार्यमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाह र नगर प्रहरीको साथ र सहयोग रहेको मानवसेवा आश्रम कैलाली शाखाका संयोजक लोकेन्द्र शाहले बताएका छन्। उक्त बेवारिसे व्यक्तिले आफ्नो घरपरिवारमा कोही नरहेको र फुपुु पुसाई को घरमा बस्दै आएको र सधैँ अरूको घरमा बस्न नसकिने भएपछि केही काम खोज्न सात दिन अगाडि धनगढी आएको केही काम नपाएपछि सडकमै रात बिताइरहेको बताएका छन्।
उक्त व्यक्तिको बारेमा साँफे बगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरलाई फोन गरेर बुझ्दा उक्त व्यक्तिको बारेमा वडा नम्बर ८ का वडाध्यक्षज्यूसँग बुझेर खबर गर्ने बताएका छन् । उक्त व्यक्तिलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाह र ५ नगर प्रहरीको सहयोगमा उद्धार गरी मानव सेवा आश्रममा ल्याइएको मानव सेवा आश्रम कैलाली जिल्ला सयोजक लोकेन्द्र शाहले जनकारी दिए ।