धनगढी - दार्चुलाको प्रसिद्ध मन्दिर मालिकार्जुन मन्दिर मडमा लागेको रात्रिकालीन जात्रा हेरेर फर्किने क्रममा जीव दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
मालिकार्जुन धाममा लागेको जात्रा हेरेर फर्किने क्रममा आज बिहान करिब ४ बजेको समयमा म १ ज ३३८ नम्बरको जिप सडकबाट तीन सय मिटर तल खस्दा आठजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको जानकारी दिएका छन् ।
उनका अनुसार मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, शैल्यशिखर–५ लेक गाउँका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल छन्।
त्यस्तै बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ बस्ने ५० वर्षीय बिरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिलको मृत्यु डिएसपी दाहालले बताएका छन्। ।
त्यस्तै जीव दुर्घटनामा घाइते हुनेमध्ये जीव चालक मालिकार्जुन–८ पस्तीका सुनिल जोशीको टाउकोमा गम्भीर चोट लागेको छ। ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाइते भएको डिएसपी दाहालले जानकारी दिएका छन् ।
दुर्घटनामा घाइते भएकाहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।