मिटर ब्याजको जालोमा फसेकी जानकीः न जग्गाको मूल्य पाइन,न त न्याय

शेरबहादुर ऐर धनगढी– उमेरले अन्दाजी ४६ पुगिन् । झण्डै ११ वर्षअघि उनका श्रीमान विते ।

छोरालाई अध्यापनको जोहो गर्न समस्या भएपछि धनगढी उपमहानगरपालिका वडा नम्बर १५ वसन्त टोलमा रहेको पाँच कठ्ठा जमिन विक्री गर्ने निधो गरिन । खरिदकर्ता त भेटिन तर, सहमति अनुसारको रकम पाइनन् । अहिले उनीले भोगचलन गर्दै आएको जग्गा अर्कै व्यक्तिले लगेपछि न्यायका लागि विभिन्न क्षेत्र धाइरहेकी जानकीले उल्टै धम्की र सजाय पाईरहेकी छन ।

यस्तो थियो उनको घटना

२०७५ साल असोजमा छोरा मधुसुदन चौधरीलाई अध्यापन गराउन पाँच कठ्ठा जमिन ११ लाख ५० हजारमा वडा नम्बर ७ बस्ने सुनिता राना विकलाई विक्री गर्न कागजपत्र बनाइन् । सो समयमा उनलाई सुनिताले दुई लाख रकम बुझाइन र बाँकी रकम २०७५ फाल्गुनभित्र दिने सहमति भयो । तर, उनले सो जग्गाको पुरा रकम अहिलेसम्म पाउन नसक्नु एकतर्फी पिडा छ भने भएको अर्को जग्गा पनि उनी (सुनिता)ले कब्जा गरेकी छिन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ रामनगरमा भोगचलन गर्दै आएको सात धुर जग्गा सुनिताले कब्जा गर्दा उनी समस्यामा छिन् । उनले भनिन् –‘मैले कनरीको जग्गा बेचेको हुँ । ११ लाख ५० हजार जग्गाको मूल्य थियो । फागुनभित्र ९ लाख ५० हजार रकम दिने भनेकी थिइन । तर, अहिलेसम्म एक रुपैयाँ पनि दिएकी छैनन् । त्यसैमा मैले भोगचलन गर्दै आएको रामनगरको जग्गामा अहिले सुनिता बस्दै आएकी छिन् ।’

आफनो जग्गा सुनिताले कब्जा गरेपछि जानकीले २०७८ साल पुस १८ गते कैलाली जिल्ला अदालतमा रिट दायर गरिन् । जिल्ला अदालत कैलालीले दाबी नपुग्ने र प्रस्तुत फिराद खारेज हुने ठहरी फैसला भएको उल्लेख छ । अदालतको फैसलामा भनिएको छ –‘फैसलामा चित्त नबुझे ३० दिनभित्र उच्च अदालत दिपायलमा पुनरावेदन गर्नु ।’

सो फैसलापछि जानकीलाई पुनरावेदन गर्न रकम अभाव भएको र वकिलहरुले मिटरब्याज अन्तरगत प्रशासनमा जाहेरी दिन सुझाव दिएको बताइन् । ‘पुनरावेदन गर्न रकम थिएन् । मिटरब्याजमा छलफल गराइदिन भनि जिल्ला प्रशासन कार्यालयमा धाए’ उनले भनिन् ।जिल्ला प्रशासन कार्यालय, कैलालीमा न्यायका लागि धाएकी उनी सुरक्षा निकायबाटै पनि पीडित बनेकी छिन् ।

भुमि आयोगको बदमासी

राष्ट्रिय भुमि आयोगले २०७९ सालमा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा सुकुम्बासी आयोगको जग्गाको निस्सा वितरण गरेको थियो । जानकीले भोगचलन गर्दै आएको रामपुरको जग्गाको निस्सा जानकीका छोरा मधुसुदन र सुनिता राना विक दुबैका नाममा जारी गरेको छ ।

भुमि आयोगले निस्सा दिएको भएपनि जग्गा नापजाँच नभएकाले अहिलेनै जग्गा कसले उपयोग गर्न पाउने भन्नेबारेमा निर्णय हुन नसकेको जनाएको छ । निस्सा दिँदैमा जग्गा उपयोग गर्न पाइन्छ भन्ने होइन । त्यसको नापजाँच पछिमात्र अन्तिम टुङ्गो लाग्ने उपमहानगरपालिकाको भुमि शाखाले जनाएको छ ।

वडा अध्यक्षको दाबी– ‘जानकीले जग्गा उपभोग गर्दै आएकी हुन’

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीले रामनगरको जग्गा वर्षौदेखि जानकीले उपभोग गर्दै आएको बताए । ‘२०७५ सालसम्म जग्गमा जानकी बस्दै आएकी थिइन् । त्यसपछि उनले जग्गा किनबेच गरिन कि गरेनन भन्नेबारे मलाई थाहा छैन्’ उनले भने –‘सुनिता र जानकी दुबैलाई वडामा छलफलका लागि बोलाउँदा सुनिता आउँदैनन् । दुबै पक्षबिच वार्ता भएमात्र यो समस्याको समाधान हुन्छ । छलफल नगरी एकलौटी ढंगले निर्णय गर्न मिलेन । यर्थाथ के हो ? त्यो त बुझ्नै पर्छ ।’ प्रहरीको दमनमा परेकी जानकी आफनो जग्गा उपभोग गर्न नपाउँदा र कनरीको जग्गा बेच्दा पुरा रकम नपाएपछि समस्यामा रहेकी जानकीले प्रहरी दमन खेप्नु परेको छ । झण्डै १३ दिन अघि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख पदमबहादुर विष्टले जानकीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरि हिरासतमा राखे । सुनिता विकको ठाडो जाहेरीमा उनलाई प्रहरी विष्टले १० दिनसम्म हिरासतमा राखेका थिए । जानकीका आफन्तहरु विभिन्न निकायमा धाएपछि दशौं दिनमा उनलाई जिल्ला प्रशासन कार्यालयमा लगिएको थियो । उनलाई प्रशासनले धरौटीमा रिहा गरेको छ । वडा अध्यक्ष जुगरामले भने –‘टोलबासीका अनुसार जानकीले सुनितामाथि कुनै अभद्र व्यवहार गरेकी थिइनन् । तर, प्रहरीले उनलाई हिरासतमा राख्नुको कारण थाहा भएन् । प्रहरीले पनि यथार्थ टोलबासीबाट बुझेरमात्र पक्राउ गर्नुपर्ने थियो । यहाँ प्रहरीको दमन भएको छ ।’

सम्पर्कमै आउन नचाहने सुनिता

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जुगरामले पटक–पटक सुनिता र जानकीलाई वडामा छलफलका लागि बोलाएको थियो । तर, सुनिता जानकीसंग संवादनै गर्न नचाहने भएकाले वडामा नआएको वडा अध्यक्ष जुगराामले बताए । ‘हामीले पटक–पटक दुबैलाई राखेर संवाद गराउन खोजेको थिए । तर, सुनिता आउनै चाहदैनन्’ उनले भने । हामीले पनि सुनितासंग पटक–पटक यस विषयमा बुझन फोन सम्पर्क गर्न खोज्दा उनले व्यस्त रहेको बताउँदै आफु भएको स्थान पनि बताइनन र भेट्न पनि चाहिन्न । तर, तेस्रो पटक उनकै फोनबाट तेस्रो व्यक्ति अर्थात वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष बलबहादुर ऐरले २०८० सालमा कैलाली जिल्ला अदालतले गरेको फैसलाको प्रति हाम्रो ह्वाटसएपमा पठाए ।

के छ अदालतमा सुनिता र जानकीको बयान

‘ऐलानी प्रति जग्गामा स्व. पति थानेदारको मृत्यु पछी पन्वराम चौधरीबाट मिति २०७६।०५।१२ गते आफ्नो अंश भागको अंश प्राप्त गरी फिरादीले जोतखन गरी बाली लगाई घर समेत बनाई जोत भोग गरी उक्त जग्गामा बनाए’ जानकीले अदालतमा भनेकी छिन् –‘घरमा विद्युत जडान समेत गराई अन्दाजी १–५–० पाँच कट्टा जग्गा र सोमा बने घरलाई मिति, २०७८।०६।२१ गते दिउसो २.३० बजेको समयमा विपक्षी समेत नचिने जानेका ४÷५ जना मानिसहरु समेत साथमा ल्याई मेरो घरमा आई म फिरादी र मेरा परिवारलाई डर धाक धम्की समेत दिई यो मेरो घर जग्गा हो । यो घर जग्गा तत्कालै छोडिदे नत्र भने ठिक हुनेछैन । भनि जबरजस्ती मेरो घर भित्र प्रवेश गर्न खोज्दा मैले यो जग्गा अंश वा पाएको हो । म छोड्दिन भन्दा, मेरो घर भित्र प्रवेश गरी मेरो घर भित्र भएको सामान घर तोडफोड तथा हानी नोक्सानी गरी क्षति पुर्याई घरको अन्दाजी मुल्य दुई लाख ८० हजार पर्ने इट्टाको पर्खाल, टिनको छाना भएको घर समेत क्षति पु¥याएको हो । जग्गा कब्जा गरी खाई आएका हुँदा साह्रै मर्कामा परेर विपक्षी प्रतिवादीलाई हदैसम्म सजाय जरिवाना गरी विपक्षी प्रतिवादीले लुटपिट गरेको मेरो जग्गा दिलाई पाउँ ।’

‘वादीले दायर गरेको फिराद दावी झुट्टा हो । फिरादीले आफ्नो छोरोलाई विदेश पठाउन पैसा आवश्यकता परेको हुँदा मेरो वेली कनरीमा ऐलानी ०–५–० कट्टा खेतीयोग्य जग्गा र सेतोपुलमा घरबास जग्गा छ । कनरीको जग्गाको मोल ११ लाख ५० हजार र धनगढीको १८ लाख ५० हजार गरी जम्मा तिस लाख रुपैयामा खरिद भए लिनुहोस् भनि कुराकानीमा मोल मोलाई गरी दुवैले चित्त बुझाई’ सुनिताले भनेकी छिन् ‘म प्रतिवादीले र फूलवारी वडा नं ९ बस्ने टोपराज भुसालबाट ६० लाख रुपैया लिई सो वापतमा छोरा सेवालाल रानाको जग्गाः दृष्टिबन्धक पास गरी दिई ०७५ साल महिनामा वादीको उल्लेखित दुई ठाउँको जग्गा खरिद गरी लिई धनगढी सेतोपुलको अन्दाजी ७ धुर जग्गामा इटाकी दिवाल आएको सटरको र काठको अकों घर निर्माण गरी बसी कनरीको ०–५–० जग्गामा खेती लगाई व्यवहार गरी आएको कुरा साँचो हो ।

’ सुनिताले जानकीले अरुको कुरा सुनि धनगढी सेतो पुलको जग्गा मेनरोडमा भएको जग्गा लाखमा विक्री गरेको भनेर उक्साहटमा लागेको जवाफ दिएकी छिन् ।

‘२०७६।०६।१४ गते जिल्ला प्रहरी कार्यालय धनगढीमा मैले निवेदन दिई छलफल हुँदा यि बादीकै कुरा झुट्टा देखिई अव झगडा नगर्ने सहमती भई सकेको भएपनि पुनः वादीले धनगढीको न्यायिक समितिमा जग्गा कब्जा गरेको भनि २०७६।१०।२२ गते उजुरी दिई त्यहाँ समेत छलफल भएको हो’ उनको जवाफ रहेको छ – ‘घर जग्गाको कुरा नभएर लेनदेनको कुरा हुँदा सो लेनदेन सम्बन्धमा न्यायिक समितिमा नमिल्ने भनि न्यायिक समितिबाट समेत निर्णय भएको अवस्था छ । यसरी यि वादीले मेरा दिएको उजुरी निवेदनले २०७० सालमै मैले यि वादीबाट जग्गा खरिद गरी लिई बसोबास गर्दै आएको प्रष्ट छ ।

ad_wide