मुख्यमन्त्री शाह भन्छन– अभिव्यक्ति गलत छ, कानुनी व्यवस्था अनुसार अघि बढछौं
शेरबहादुर ऐर
धनगढी– सामाजिक सञ्जालमा जथाभावी लेख्ने सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कानुन सचिव लिलाधर सुवेदीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित नेपाल पत्रकार महासंघ प्रदेश, संघ र जिल्ला शाखाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसंग छलफल गरेको छ ।
समाचार लेखेकै आधारमा कानुन सचिव सुवेदीले तथ्यहिन कुरा लेखेको भन्दै बुधबार पत्रकार महासंघले उनको अभिव्यक्ति सच्चिनुपर्ने र उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै महासंघको नेतृत्वमा मुख्यमन्त्री शाहसंग छलफल गरेका हुन ।
पत्रकार महासंघका नेताहरुले सचिव सुवेदीले पदिय मर्यादाविपरित कार्य गरेकोले उनलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दिर्घराज उपाध्यायले सचिव सुवेदीले आफनो पदिय मर्यादाविपरित कार्य गरेको बताए
पत्रकार महासंघका नेता दिलबहादुर छत्यालले विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन सचिव सुवेदीले फेसबुकमा लेखेको स्टयाटसले पत्रकारिता क्षेत्रलाई बदनामित बनाउने गरि लेखेको स्टयाटस अनुसार प्रमाण माग गर्नुपर्ने अन्यथा ति कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
पत्रकार महासंघका महासचिव शिवराज भट्टले सचिव सुवेदीले समाजिक सञ्जालमा जथाभावी लेख्नेमात्र नभई आफु मातहातका कर्मचारी तथा साथिहरुको म्यासेन्जरमा कुराकानी गरि पत्रकार महासंघलाई बदनाम गराउने कार्य गरेको बताए ।
शनिबार समाचार लेखेकै आधारमा कानुन सचिव सुवेदीले तथ्यहिन कुरा लेख्दै समग्र पत्रकारिताप्रति बदनाम गराउने गरि स्टयाटस लेखेका थिए । सुवेदीले –‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना । विशेष गरि पत्रकार शिवराज भट्ट, अन्नपुर्ण र इविगुललाई’ भनेर स्टयाटस लेखेपछि महासंघले यस अघिनै ध्यानाकर्षण पत्र जारी गरेको थियो । सो विज्ञप्ती सेयर गर्दै उनले लेखेका छन–‘म आफै नै ध्यानाकर्षण गराउने वाला थिए, आफै ध्यानाकर्षण हुनुभएकोमा हार्दिक धन्यवाद नेपाल पत्रकार महासंघ ।’ कानुन सचिव यतिमै रुकेनन । आइतबार नेपाल पत्रकार महासंघ केन्द्रिय कार्य समितिले पनि सो विषयलाई लिएर विज्ञप्ती जारी गरेको थियो । सोही विज्ञप्ती शेयर गर्दै लेखेका छन–‘हार्दिक कृतज्ञता नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई । शब्द, भाषा र भाव यी र यस्तै भएका अरू पनी विज्ञप्ती र समाचार अझै आलान यो कुनै नौलो विषय रहेन, कुरा सवैले बुझेका छन् । ‘सत्यमेव जयते’ सत्यमेव जयतेको नेपालीमा अर्थ हुन्छ सत्यको नै विजय हुनेछ, असत्यको होइन । सत्यमेव जयते भन्ने आदर्श वाक्य मुण्डकोपनिषद्को ३.१.६ को मन्त्रको हो ।’
सुवेदीको गतिविधिका कारण कर्मचारीदेखि मुख्यमन्त्रीसमेतले समस्या झेल्नुपरिरहेको स्रोत बताउँछ । देश संघिय संरचनामा गएपछि केही ऐनहरु स्पष्ट नहुँदा प्रदेश सरकारले कर्मचारी व्यवस्थापनमा समस्या झेल्नुपरिरहेको छ । अहिले प्रदेश सरकारले आफु मातहातका निकायमा कर्मचारी अभाव रहेका क्षेत्रमा पदपुर्ति गर्न लोकसेवा खोल्ने तयारी गरिरहेकै समयमा प्रदेश सरकारले तयार पारेको निजामति कर्मचारी व्यवस्थापन सम्बन्धी नियमावलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको छ । जसका कारण लोकसेवाका लागि खोलिएको सो विज्ञापन रद्द गर्नुपर्ने अवस्थामा प्रदेश सरकार पुगेको छ ।
बुधबार सञ्चारकर्मीसंग कुराकानी गर्दै मुख्यमन्त्री शाहले कानुन सचिव सुवेदीको अभिव्यक्ति गलत रहेको बताए
मुख्यमन्त्री शाहले प्रदेश सरकारसंग सिमित अधिकार हुँदा कतिपय विषयमा निर्णय लिन समस्या हुने गरेको बताए ।