म्यानमारमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने बताइएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले मृत्यु हुनेको संख्या १०,००० नाघ्न सक्ने अनुमान गरेको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षण (USGS) ले उक्त सर्वेक्षण गरेको हो। भूकम्पको धक्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।
ब्लूमबर्गका अनुसार म्यानमारको सैन्य सरकारले अहिलेसम्म ८०० भन्दा बढी मानिसको मृत्यु भएको र २००० भन्दा बढी घाइते भएको बताएको छ। सोही भूकम्पले थाइल्याण्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ।
शुक्रबार बिहान ११:५० बजे म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। यसलाई २०० वर्षमा म्यानमार र थाइल्याण्डमा गएको सबैभन्दा ठूलो भूकम्प मानिएको छ। ठूलो विनाशका कारण म्यानमारका ६ राज्य र सम्पूर्ण थाइल्याण्डमा आपतकाल लगाइएको छ।