सुदिप थापा/शेर बहादुर ऐर
अहिले देशभरीका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको चहलपहल बढीरहेको छ । यहि अवसरमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सक्रियता बढेको छ । केही दिनदेखि विधेयकका विरुद्ध आन्दोलित विद्यार्थी संगठनले विद्यार्थी तथा युवाहरुलाई भ्रमित पार्दै आफनो प्रभाव देखाउन खोजिरहेको छ ।

विहिबार मुख्यमन्त्री कार्यालय अगाडि पार्टीका महामन्त्री सन्तोषराज जोशीले विरोध प्रदर्शनमा दिएको अभिव्यक्तिले पनि देखाउँछ । उनले भन्दै थिए –‘अहिले स्वविय निर्वाचन पनि नजिकिएको छ । केही विद्यार्थीहरुको हकहितका लागि विद्यार्थी संगठनहरु लागेका छन् । सबै विद्यार्थी एक हुन जरुरी छ । हिजो हामीले प्रदेश सभामा यो सरकारको नागो नाच देखाइसकेका छौं । आज पनि यो सरकारले ८८ वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुलाई आफु मातहात राख्ने गरि कानुन बनाइरहेको छ । काँग्रेस र एमालेका नेताहरुले एकलौटी ढंगमा कानुन ल्याउन खोजेको छ ।’ युवा तथा विद्यार्थीहरु मुख्यमन्त्री कार्यालयको गेट अगाडि धर्ना दिएर बसेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह त्यहाँ पुगे । उनले गुनासोलाई केही हदसम्म कम गराउन युवा तथा विद्यार्थीहरुको गुनासो सुन्ने प्रयास गर्दा उनीहरु नाराबाजीसंगै गेटमै घोचपेचमा लागे । मुख्यमन्त्री कमलबहादुर शाहले केही सिमित व्यक्तिहरुले राजनीतिका नाममा युवा तथा विद्यार्थीहरुलाई भ्रमित पारि आन्दोलित बनाएको बताए । विधेयकमा रहेका कमिकमजोरीलाई सच्याएर अघि बढ्ने सहमति भइसक्दा समेत युवा तथा विद्यार्थीहरुलाई भ्रममा पारेर सडकमा नउत्रान आग्रह गरे ।
प्रदेश सरकारले हुवहुँ विधेयकलाई प्रदेश सभामा पेश गरेको खण्डमा असहमतिका बुँदामा विद्यार्थी तथा युवा आन्दोलित हुनुपर्ने हो । तर, विधेयकको मस्यौदानै नहेरी सुनेको भरमा पार्टिले युवा तथा विद्यार्थीहरुलाई सडकमा ल्याउनु उपयुक्त होइन् । यसरी विद्यार्थी तथा युवाहरुलाई भ्रमित पार्दै केही व्यक्तिको स्वार्थमा राजनीति गर्नु उचित पनि होइन् ।