राजनीतिको मारमा धनगढीका कृषकः कृषि तथा पशु हाटबजार छ, सुचारु छैन

शेरबहादुर ऐर धनगढी– एउटा सानो गोदाम छ । कृषकहरुको उत्पादनहरु राखेर विक्री गर्ने स्थान छ । दुई वटा शौचालय पनि छ । सुरक्षाका लागि पर्खाल र गेट बनाइएको छ । तर, त्यहाँ रहेको गेटमा विगत चार वर्षदेखि ताला लागेको छ भने भित्र सुनसान छ । दृष्य हो धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको सामुदायिक कृषि तथा पशु हाटबजारको ।

२०७७ साल पुस ११ गते तत्कालिन धनगढी नगर प्रमुख नृपबहादुर वडले त्यस क्षेत्रका कृषकहरुको उत्पादन विक्री वितरणमा सहजता ल्याउन भव्य समारोहकाबिच समुदघाटन गरेका थिए । तर, सञ्चालनको तीन महिना नबित्दै सो हाटबजार प्रयोगविहिन बनेको छ ।

कोही हातमा हँसिया समातेर झाँडहरु काटिरहेका थिए त कोही रुखका हाँगाहरु मिलाइरहेका थिए । केहीले फरुवाले ठुल–ठुला दुवोहरु उप्काइरहेका थिए । चार वर्षदेखि बन्द अवस्थामा रहेको हाटबजारलाई सञ्चालनमा ल्याउन स्थानीय सरकारलाई दबाब दिन स्वरुप शनिबार विहानै सोही वडाका स्थानीयहरु स्वयम सरसफाईमा जुटेका थिए ।

नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटिले स्थानीय तहले हाटबजारलाई सुचारु ल्याउनमा ध्यान नदिएपछि दबाब स्वरुप सरसफाई कार्यक्रम गरेको जनाएको छ ।

नेकपा माओवादी केन्द्रका नेता रमेश भट्टराइले सरकारको करोडौ लगानीमा बनेको हाटबजारलाई सुचारु गर्नमा स्थानीय तहले ध्यान नदिएको र स्थानीय कृषकहरुले आफनो उत्पादन खेतमै खेर फाल्नु परेको अवस्था रहेको बताए । उनले भने –‘सरकारको करोडौं लगानीमा संरचना त बनेका छन् । चार वर्षदेखि यहाँका गेटमा ताला लागेको छ । हामीले पार्टीको बैठक बसाउन खोज्दा यहाँ आएपछि यसको दुरदसा देखेर सरसफाई गरेर स्थानीय तहलाई दबाब दिन हामी यहाँ पुगेका हौं ।’

धनगढी वडा नम्बर १८ का निवर्तमान अध्यक्ष मुरारी अधिकारीले आम किसानहरुको उपभोग्य सामानहरु विक्रीको माध्यम बनाएर किसानको हातहातमा पैसा पु¥याउनुपर्ने उद्देश्यसहित हाटबजार सुचारु ल्याएको बताए । तर, अहिले स्थानीय सरकारको लापरबाहीले सो स्थानका किसानहरुले समस्या भोगिरहेको बताए ।

‘समग्र धनगढीको वडा नम्बर १६, १५ र १८ सहित कैलारी गाउँपालिकाका केही वडालाई ध्यानमा राखेर यहाँ कृषि तथा पशुपन्छि हाटबजारका संरचना बनाई सुचारु ल्याइएको थियो । कोभिड महामारीका कारण बन्दाबन्दीपछि सञ्चालन हुन सकेन । लगतै स्थानीय तहको निर्वाचन भयो । नयाँ नेतृत्व आइसकेपछि सञ्चालनमा कुनै ध्यान छैन् ।’ उनले धनगढीको आम्दानीको प्रमुख स्रोतका रुपमा हाटबजारलाई बनाउन सकिने भएपनि स्थानीय तहको ध्यान नपुग्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

स्थानीय कृषक कमला कार्कीले आफुहरुले उत्पादन गरेका कृषि उपजहरु विक्री वितरणका लागि टाढा जानुपर्ने बताइन । उनले उब्जनी गरेको भएपनि विक्री गर्ने ठाउँ नहुँदा समस्या भोगिरहेको बताइन । ‘अहिले हामीले बारीमा काउली, टमाटर, खुर्सानी लगायतका तरकारी उत्पादन गर्दै आएका छौं । मकै, गहुँ, धानसंगै पशुपालन पनि भइरहेको छ’ उनले भनिन –नजिकै विक्री गर्ने ठाउँ नहुँदा घर–घरमा गएर तथा धनगढी बजार पुगेर हामीले आफनो उत्पादन विक्री गर्नुपर्ने अवस्था रहेको छ । यो हाटबजार सुचारु भएको भए हामीले टाढा जानुपर्ने थिएन् । हाम्रा उत्पादन यहिबाट पनि ढुवानी गर्न सक्थे । त्यस खालको योजना पनि यो हाटबजारले बनाएर सुचारु ल्याउनुपर्छ ।’

स्थानीय कृष्णप्रसाद मिश्रले स्थानीयहरुकै असक्षमताका कारण पनि हाटबजारले निरन्तरता पाउन नसकेको बताए । उनले वडाका सबै जना एक भएर अघि बढ्न जरुरी रहेको उनको भनाई छ । उनले भने –‘हाटबजार यही हुँदा हामी किसानलाई सहजता भएको थियो । तर, हामीले त्यसलाई निरन्तरता दिन सकेनौं । न त त्यसका निम्ती स्थानीय तहको ध्यानाकर्षण र दबाब दिन सकेका छौं । यसमा हाम्रो कमिकमजोरी रहेको छ ।’ उनले स्थानीयले दबाब नदिए पनि स्थानीय तहले आफैले पनि यसलाई सुचारु गर्नतर्फ ध्यान दिनुपर्ने बताए । नेकपा माओवादी केन्द्र धनगढी नगर अध्यक्ष बलबहादुर ऐरले जुन उद्देश्यका साथ हाटबजार सो स्थानमा बनाइएको थियो । त्यस अनुसारका कामको निरन्तरतामा अहिलेको सरकारको ध्यान पुग्न नसकेको बताए । ‘पहिलो रुपमा सरसफाई गरिसकेका छौं । यसले यहाँका स्थानीय तह र वडालाई एउटा सन्देश जान्छ । सरकारको यत्रो लगानी भएको यहाँ प्रतिफल केही ल्याउन सकेको छैन’ उनले भने –‘हरेक वडामा उपमहानगरपालिकाले समानुपातिक विकासको अवधारणा लिएर अघि बढ्नुपर्ने जरुरी रहेको छ । अहिले धनगढीको कामले कुनै वडालाई उपेक्षामा पारेको जस्तो देखिएको छ ।’ धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष भुवन रिजालले सो हाटबजारनै बिना अवधारणा बनेको भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिए । उनले सो क्षेत्रको उत्पादननै नहेरी हाट बजार बनाउँदा प्रयोगविहिन बनेको बताए । ‘तत्कालिन समयमा त्यहाँको कृषि उत्पादन नहेरेरै हाटबजारमा संरचना बनाइयो’ उनले भने –‘अहिले वडामा बजेट छैन । हाटबजार सूचारु गर्न ४५ लाख बढी बजेट आवश्यक रहेको छ । त्यही भएर हाटबजार सञ्चालनमा कठिनाई भइरहेको छ । सो हाटबजार सुचारु नहुनुमा नगर प्रमुख गोपाल हमाल र वडा अध्यक्ष रिजालको प्रमुख कमजोरी रहेको स्थानीयबासीहरु बताउँछन् ।

दल महत्व की हाटबजार ? २०७७ सालमा सो हाटबजार सुचारु गर्न नेकपा माओवादी केन्द्रका नेता कृष्ण चौधरी व्यवस्थापन समितिका अध्यक्ष थिए । २०७९ सालको निर्वाचनपछि नयाँ नेतृत्व आएपछि सो हाटबजार सञ्चालनमा भन्दा बढी जोड राजनीति केन्द्रित बन्यो । वडाभित्रका मानिस सो हाटबजारको व्यवस्थापन समितिमा नरहेको भन्दै वडा कार्यालयले सो समिति खारेज गर्ने तयारी ग¥यो । वडा अध्यक्ष रिजाल भन्छन– ‘वडा भन्दाबाहिरका मानिस व्यवस्थापन समितिमा रहेका थिए । त्यसैले सो समिति खारेजीका लागि उपमहानगरपालिकामा सिफारिस गरेका थियौं ।’ उनका अनुसार पछि ठेक्का प्रक्रियामा लग्न खोजेपछि उनै चौधरीसंग ठेक्का सम्झौता गरियो । तर, हाटबजार सुचारु गर्न दिएनन् ।

अहिले वडा अध्यक्षले सोही वडाका केही मान्छेहरुलाई समेटेर नयाँ व्यवस्थापन समिति गठन गरेको भएपनि पुनः बजेट अभाव देखाउँदै सञ्चालनका लागि पहल गरेका छैनन् । त्यहाँ २०६५ सालदेखि नै हाट बजार सञ्चालन रहेको छ । तर २०७७ सम्म भौतिक संरचना थिएन । अहिले भौतिक संरचना भएपनि त्यो हाटबजार प्रयोगमा छैन् । हाटबजार सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाको ६७ लाख रुपैयाँ, कृषि ज्ञान केन्द्र कैलालीको १५ लाख रुपैयाँ र व्यवस्थापन समितिको ३० प्रतिशत रकम गरी एक करोड ३५ लाख रुपैयाँ बराबरमा संरचना बनाइएको थियो । सो हाटबजारमा अहिले खानेपानी, विद्युत लगायतको समस्या रहेको छ ।

तत्कालिन समयमा हाटबजारलाई हप्ताको तीन पटक खुला गरिने बताइएको थियो । तर, सञ्चालन भएको तीन महिनामा कोभिड महामारीका कारण भएको बन्दाबन्दीले हाटबजारले निरन्तरता पाउन सकेन । सो हाटबजार सुचारु भए कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका कृषक समुहहरू तरकारी तथा पशुपंछी खरिद बिक्रीका लागि सहजता हुने छ ।

ad_wide