वातावरणीय परिक्षणबिनै नदिजन्य पदार्थ उत्खन्न गराउँदै धनगढी

शेरबहादुर ऐर/धनगढी ‘यस धनगढी उपमहानगरपालिका क्षेत्र भएर बग्ने खुटिया, शिवगंगा र मोहना नदी/खोलाको बगर क्षेत्रबाट दिगो र वातावरणमैत्री रुपमा नदिजन्य पदार्थको उत्खन्न र संकलन गर्न ठेक्का नभएसम्मका लागि नगर प्रहरी खटाई राजश्व संकलन गरिनेछ’ उपमहानगरपालिकाको भदौ ३० गते बसेको कार्यपालिका बैठकको यो निर्णय अनुसार अहिले उपमहानगरभित्र नदिजन्य पदार्थ उत्खन्न तथा संकलन भइरहेको छ । सो बैठकको निर्णय नम्बर ४ मा भनिएको छ – ‘वातावरणमैत्री रुपमा नदिजन्य पदार्थको उत्खन्न र संकलन पूर्व गरिने प्रारम्भिक वातावरणीय परिक्षण हाल भइरहेको अवस्थामा उल्लेखित नदि तथा खोलामा नदिजन्य पदार्थको संकलन र उत्खन्न गनुपर्ने भएकाले अध्ययनको प्रारम्भिक फिल्ड अध्ययन प्रतिवेदन अनुसार मिति २०८१ असोज १ गतेबाट नगर प्रहरी खटाई नदिजन्य पदार्थ उत्खन्न तथा संकलन गर्ने र पूर्ण प्रतिवेदन आएपछि ठेक्का प्रक्रिया अघि बढाउने कार्य गरिनेछ ।’ उपमहागनरपालिकाले हालसम्म ठेक्का प्रक्रिया अघि नबढाएपनि नदिजन्य पदार्थ उत्खन्न तथा संकलन गरिरहेको छ । जिल्ला समन्वय समितिका सूचना अधिकारी विमल प्रकाश जोशीले वातावरणीय परिक्षणबिना कुनै पनि नदिमा नदिजन्य पदार्थ उत्खन्न तथा संकलन गर्न नपाइने बताए । उनले भने –‘वातावरणीय परिक्षण प्रतिवेदन तयार नगरी कुनै पनि अवस्थामा नदिजन्य पदार्थ उत्खन्न गर्न पाइदैन । कुनै नदिमा कति क्षमताको नदिजन्य पदार्थ उत्खन्न गर्न पाइन्छ सोही प्रतिवेदनमा उल्लेख हुने भएकाले त्यस यता कुनै पनि व्यवसायी, सरकार तथा ठेकेदारले नदिजन्य पदार्थ उत्खन्न तथा संकलन गर्न पाउँदैन् ।’ कैलाली प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थानीय तहले वातावरण परिक्षणबिनै नदिजन्य पदार्थ उत्खन्न तथा संकलन गरिरहेको जानकारी नभएको बताए । उनले भने –‘वातावरण संरक्षणका निम्ती अहिले नदिजन्य पदार्थको संकलन तथा उत्खन्न नियन्त्रण र नियमनको अधिकारी बढी स्थानीय तह र प्रदेश सरकारसंग छ । हामीले गुनासो आए अनुगमन गर्ने हो । त्यस अनुसार कारबाही अघि बढाउने हो ।’ वातावरणीय परिक्षण प्रतिवेदन तयारी अवस्थामा रहेको गोदावरी नगरपालिकाले अहिले संकलन तथा उत्खन्न गर्न बन्द गराएको छ । सो नगरपालिकाले सूचना जारीनै गरेर यस अवधिमा उत्खन्न तथा संकलन गरेको अवस्थामा फेला परे जरिवानासहित कारबाही गर्ने उल्लेख गरेको छ । नदिजन्य पदार्थ उत्खन्न तथा संकलनको अधिकार स्थानिय तहमा आएदेखि जथाभावी उत्खन्न तथा संकलन भइरहेको गुनासो बढ्दै गइरहेको जिल्ला समन्वय समितिका सूचना अधिकारी जोशीले बताए । उनले भने –‘हामीले अनुगमन गर्दा कारबाही गरिरहेका छौं । तर, हामीसंग बजेट र जनशक्ति अभाव हुँदा नियमित अनुगमन गर्न सकिरहेका छैनौं । जसका लाग्दा स्थानीय तहकै मिलेमतोमा जथाभावी नदिजन्य पदार्थ उत्खन्न तथा संकलन हुने कार्य बढ्दै गइरहेको छ ।’
ad_wide