विपन्न र एकल महिलाका लागि गोदावरीमा नयाँ कार्यक्रम सुरु

धनगढी – कैलालीको गोदावरी नगरपालिकामा मानव अधिकारका लागि महिला, एकल महिला समूहले एकल महिला तथा विपन्न समुदायको सशक्तिकरणका लागि तीनवर्षे परियोजना सुरु गरेको छ। नेपालमा समावेशी समुदायको लागि शान्तिपूर्ण सशक्तिकरण कार्यक्रम अन्तर्गत सुरु गरिएको परियोजनाको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मानव अधिकारका लागि महिला, एकल महिला समूहका प्रदेश अध्यक्ष सुमन शर्मा, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, विभिन्न शाखाका कर्मचारी, नगरपालिकाका १२ वडाका अध्यक्षहरू, इन्सेक सुदूरपश्चिमका प्रमुख खडकराज जोशी, फाया नेपालकी अध्यक्ष गोमा आचार्य, डब्ल एचआरका सल्लाहकार गणेश कडायत, डी डब्लू आरएफकी अध्यक्ष सबिना घिमिरे, नेड्स नेपालका प्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो।

योजनाअन्तर्गत महिलाहरूलाई सीपमूलक तालिम, कानुनी सहायता, बालबालिकाको शिक्षा, हिंसा विरुद्ध सचेतना, महिला स्वास्थ्य तथा स्वरोजगार कार्यक्रमहरू सञ्चालन गरिने समूहका संयोजक वेद अवस्थीले बताइन् । विशेष गरी, समाजमा हिंसा भोगिरहेका एकल महिला, एचआईभी संक्रमित महिला तथा उनीहरूका बालबालिकाको सहयोगका लागि पहल गरिनेछ । परियोजनालाई KURVE Wustrow को सहकार्यमा अघि बढाइने जनाइएको छ।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले कार्यक्रममा बोल्दै नगरपालिकाभित्र एकल महिला, विपन्न तथा दलित महिलाहरूको अधिकारको सुनिश्चितता गर्न परियोजना प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। उनले महिलाहरूको आत्मनिर्भरताका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाइन्।

सुदूरपश्चिम प्रदेश अध्यक्ष सुमन शर्माले हिंसा भोगेका महिलाहरूलाई आवश्यक सहयोग, व्यवसायिक तालिम तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिइन्। उनले विशेष गरी एकल महिलाहरूलाई छोराछोरीको पालनपोषण र शिक्षामा समस्या भोग्नुपर्ने भएकाले परियोजनाले उनीहरूको आर्थिक तथा सामाजिक सशक्तिकरणमा योगदान पुर्याउने बताइन्।

फाया नेपालकी अध्यक्ष गोमा आचार्यले बालबालिकाको सशक्तिकरण र समावेशी समुदायको विकासमा यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताउँदै सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताइन् । परियोजनाबाट महिलाहरूको आर्थिक, सामाजिक तथा कानुनी अधिकार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ad_wide