समुदायमा बढ्दै नसर्ने रोगका विरामी

नेपालगन्ज –

समुदायमा पछिल्ला केही वर्षयता सरुवा रोगकाभन्दा नसर्ने रोगका विरामीहरू बढ्दै गएको पाइएका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएको बताइएको छ । स्वास्थ्य कार्यालय बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको सञ्चारकर्मीहरूका लागि नसर्ने रोग पहिचान, रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण, अन्तरक्रिया र पैरवी गोष्ठीमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले सरुवा रोगभन्दा नसर्ने रोगका कारण समुदायमा समस्या जटिल बन्दै गएको बताइन् ।

‘पछिल्ला केही वर्षयता समुदायमा सरुवा रोगभन्दा पनि नसर्ने रोगका कारण सर्वसाधारण नागरिकको स्वास्थ्य समस्या जटिल बन्दै गएको छ, समुदायमा गएर स्क्रिनिङ गर्दा नसर्ने विभिन्न रोगहरू बढिरहेको पाइएको छ ।’ कार्यालय प्रमुख पौडेलले भनिन्, ‘व्यक्तिको दैनिक जीवनयापान, खानपान लगायतमा ध्यान नदिने हो अझै जटिल अवस्था आउन सक्छ ।’

उनले नसर्ने रोगका बारेमा जानकारी गराएर समुदायस्तरमा सूचना तथा सन्देश पुराउनका लागि पत्रकारहरूसँगको कार्यक्रम राखिएको बताइन् । ‘३० वर्षभन्दा माथिका नागरिकहरूलाई नसर्ने रोगको जोखिमका बारेमा तपाइँहरूलाई जानकारी गराएर तपाईँहरूमार्फत समुदायमा सचेतना फैलाउनका लागि यो कार्यक्रम राखिएको हो ।’ उनले भनिन् ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट स्वीकृत संक्रामक तथा नसर्ने रोग न्यूनीकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम र संघीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट फागुन महिना नसर्ने रोगहरू पहिचानका लागि एक महिने अभियान सँगसँगै फागुन महिनाभर नसर्ने रोगको अवस्था पहिचान, नियन्त्रण, रोकथामका क्रियाकलापहरूलाई विशेष केन्द्रित गरी लक्षित उमेर समूहका व्यक्तिहरूको स्वास्थ्य परीक्षणका साथै स्वास्थ्य प्रवद्र्धन तथा जोखिम न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिइन् ।

उनले हरेक एक सय जना मृत्यु हुने सङ्ख्यामध्ये ६६ जनाभन्दा माथि नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या समुदायस्तरमा तथ्याङ्क रहेको जानकारी दिइन् । सुुगर, प्रेसर, क्यान्सर, मुटु, मानसिक समस्या लगायतका नसर्ने रोगका कारण भयावह स्थिति नआओस् भनेर त्यसलाई न्यूनीकरण र रोकथामका लागि समयमै चेकजाँच गर्नुपर्ने, उपचारको दायरामा ल्याउने र जुन समुदायमा निरोगी छन् उनीहरूलाई रोग लाग्नुबाट बचाउनका लागि विभिन्न सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले नसर्ने रोगलाई उपचार भन्दापनि रोकथाम गर्नुपर्ने बताउँदै नसर्ने रोगहरूको बारेमा सचेतीकरण गर्ने, समुदायलाई सुसूचित गर्ने, जानकारी दिने, स्वस्थकर जीवनशैलीको विकास गर्ने, सुर्तिजन्य तथा मादक पदार्थको बिक्री वितरण तथा प्रयोगमा नियमन गर्ने गराइने, स्वस्थकर खाद्य पदार्थको प्रयोगका लागि पैरवी गर्ने, स्वास्थ्य सेवाको उपभोगका लागि अभिप्रेरित गर्ने, मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि योग तथा व्यायाम गर्ने बानीको विकास गर्ने उद्देश्य रहेको बताए ।

अभियानले समुदायमा लुकेर रहेका व्यक्तिहरूमा कति प्रतिशत नसर्ने रोग छ भन्ने कुरा पत्ता लगाउन उनीहरूको स्क्रिनिङ गर्दै आएको उनले बताए । स्क्रिनिङ पश्चात भेटिएका विरामीहरूलाई अस्पतालमा चेकजाँचका लागि जान अनुरोध गर्ने गरेको श्रेष्ठको भनाइ छ । सरकारले आगामी आर्थिक वर्षमा कार्ययोजना बनाउन र बजेट विनियोजनसमेत गर्न अभियानले सहज हुने उनले बताए ।

बाँकेमा गतवर्ष ११०० जना नागरिकको स्क्रिनिङ गर्दा ३० वर्ष माथिका १५ प्रतिशतभन्दा बढीमा ब्लडप्रेसर देखिएको भन्दै यस चालू आर्थिक वर्षमा १० हजार बढी नागरिकको स्क्रिनिङ गर्ने लक्ष्यसहित अभियान सञ्चालन भइरहेको जानकारी दिए । कार्यक्रममा बाँकेका तीन दर्जन बढी पत्रकारहरूको सुगर, पिसाव, ब्लडप्रेसर तथा बिएमआई चेकजाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ad_wide