सरकारी वकिलको जवाफी बहस सकियो, रवि लामिछानेको आजै आदेश आउने सम्भावना

धनगढी- पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका र हाल प्रहरी हिरासतमा रहेका सात प्रतिवादीहरूको कास्की जिल्ला अदालतमा जारी थुनछेक बहससँगै जवाफी बहस सकिएको छ । अदालत स्रोतका अनुसार सरकारी वकिल कार्यालयको जवाफी बहस सकिएसँगै आजै थुनछेकको आदेश आउने सम्भावना रहेको छ ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ४४ जनाविरुद्ध ७ पुसमा अदालतमा अभियोगपत्र दर्ता गरेपछि ८ पुसबाट सुरु भएको बयान १६ गते सकिएसँगै सोही दिनबाट प्रहरी हिरासतमा रहेका सातजनाको थुनछेक बहस सुरु भएको थियो।

सुरुमा सरकारी वकिल कार्यालय, त्यसपछि जाहेरीवाला र अन्तिममा प्रतिवादीका कानुन व्यवसायीहरूले क्रमशः बहस गरेका थिए । प्रतिवादीहरूको बहस बुधबार सकिएको थियो। प्रतिवादीहरूको बहस सकिएसँगै जाहेरीवालाहरूतर्फको जवाफी बहससमेत बुधबारै सकिएको थियो। जाहेरीवाला पक्षको जवाफी बहसपछि सरकारी वकिल कार्यालयको तर्फबाट बिहीबार जवाफी बहस भएकोमा सोसमेत सकिएको छ।

अभियोगपत्र दर्ता भएका ४४ जनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चलक एवं सेयरधनी पूर्वडिआइजी छविलाल जोशी, जिबी राईको साझेदार एवं सहयोगी लीला पछाई, नेचर हब्र्स इन्टरनेसनल प्रालिका सञ्चालक एवं सेयरधनी रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ, सहकारीकी कोषाध्यक्ष आरती गुरुङ र सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

सातजनामध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण, पछाईलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को अभियोग लगाइएको छ भने अन्य तीनजनालाई सहकारीको रकम ठगीको अभियोग लगाइएको छ।

ad_wide