धनगढी– सुदूरपश्चिम प्रदेशमा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान जारी रहेको छ । विश्व क्यानसर दिवस (यहि माघ २२ गते)देखि शुरु गरिएको खोप अभियानअन्र्तगत शुक्रबारसम्म अनुमानित लक्षित जनसंख्याको ७६ प्रतिशत किशोरीले खोप पाएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशका एक लाख ५१ हजार दुई सय ९१ जना किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य रहेकोमा शुक्रबारसम्म एक लाख १५ हजार १३ जना किशोरीले खोप पाएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
संख्याका आधारमा सबैभन्दा बढी र प्रतिशतका आधारमा सबैभन्दा कम कैलालीमा किशोरीले खोप पाएको तथ्यांकमा रहेको छ ।
सबैभन्दा ठुलो जनसंख्या रहेको कैलालीमा सबैभन्दा कम कुल अनुमानित लक्ष्यको ५३ प्रतिशतले किशोरीले खोप पाएका छन् भने सबैभन्दा बढी अछाममा ९९ प्रतिशत किशोरीले खोप पाएको निर्देशनालयको तथ्यांकमा रहेको छ ।
कैलालीमा ५० हजार छ सय १३ अनुमानित छात्रा तथा किशोरीहरुको संख्या रहेकोमा २६ हजार छ सय ३४ किशोरीले खोप पाएको उल्लेख छ भने अछाममा १३ हजार नौ सय ८१ संख्या लक्ष्य रहेकोमा १३ हजार सात सय १५ जना किशोरीले खोप पाएको उल्लेख छ ।
सबैभन्दा कम लक्ष्य संख्या रहेको डडेल्धुरामा छ हजार पाँच सय ८६ किशोरीले खोप पाएका छन् । सो जिल्लामा छ हजार नौ सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।
अछामपछि सबैभन्दा बढी खोप पाउने दोस्रो जिल्ला दार्चुला रहेको छ । सात हजार दुई सय ९१ किशोरीलाई खोप लगाउने लक्ष्य लिइएकोमा शुक्रबारसम्म सो जिल्लाका सात हजार तीन किशोरीले खोप पाएका छन् ।
२७ हजार पाँच सय किशोरीलाई खोप लगाउने लक्ष्य रहेको कञ्चनपुरमा २२ हजार तीन सय तिन किशोरीले खोप पाएका छन् भने १३ हजार पाँच सय ६४ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको बैतडीमा नौ हजार दुई सय २४ किशोरीले खोप पाएका छन् ।
सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरामा सात हजार आठ सय ८४ किशोरीलाई खोप लगाउने लक्ष्य लिइएकोमा सात हजार दुई सय २८ र बझाङमा १२ हजार ३५ किशोरी लक्ष्य रहेकोमा ११ हजार आठ सय ३७ जना किशोरीले खोप पाएका छन् ।
निर्देशनालयका अनुसार डोटीमा ११ हजार चार सय ८७ किशोरी तथा छात्राको अनुमानित लक्ष्य रहेकोमा सो अवधिमा १० हजार चार सय २३ जना किशोरीले खोप पाएका छन् ।
स्वास्थ्य निर्देशनालयले प्रदेशभरी भोली (मंसिर २८ गते)सम्म सो अभियान संचालन गर्ने जनाएको थियो ।
विश्वमा महिलाहरूमा हुने क्यान्सर मध्येमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रूपमा रहेको छ । यो रोग ह्युमन प्यापिलोमा भाइरसबाट सङ्क्रमित व्यक्तिको यौनांगको छाला, म्युकस मेम्ब्रेन, यौनांगबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट सर्ने गर्छ । साथै मुख्य गरेर उक्त भाइरसबाट सङ्क्रमित व्यक्तिसँग यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
यौन क्रियाकलापमा सक्रिय अधिकांश महिला जीवनकालमा एचपीभीबाट सङ्क्रमित हुन्छन् तर एचपीभी सङ्क्रमण भएको सुरुको अवस्थामा कुनै पनि लक्षण, चिन्हहरू देखिँदैनन् ।
यस्तै मानव शरीरमा क्यान्सर गराउने उच्च जोखिम भएका एचपीभी भाइरसको पटक–पटक सङ्क्रमण भएर २० वर्षसम्म सङ्क्रमण रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ । पाठेघरको मुखको क्यान्सर भएमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअलपता हुने, कमजोर महसुस हुने जस्ता लक्षण तथा चिन्हहरू देखिन्छन् ।
कैलालीका दुई पालिकामा अभियान शुरु हुन सकेन
सबैभन्दा बढी किशोरी तथा छात्राको अनुमानित लक्ष्य संख्या रहेको कैलालीको तीन पालिकामा तोकिएको समयमै अभियान शुरु हुन नसक्दा प्रगतिमा कमी देखिएको स्वास्थ्य कार्यालय कैलालीको दाबी रहेको छ ।
जिल्लाको जोशीपुर गाउँपालिकामा माघ २४ गतेदेखि र मोहन्याल गाउँपालिका तथा भजनी नगरपालिकामा शनिबारसम्म अभियान शुरु भएको छैन् ।
मोहन्याल गाउँपालिकामा नियमित खोप कार्यक्रम भएको कारण र भजनी नगरपालिकामा पालिकास्तरिय खेलकुद प्रतियोगिता भएकोले अभियान ढिला गरि शुरु हुन लागेको जनाइएको छ । मोहन्यालले आज (आइतबार) देखि एक हजार दुई सय ९७ र भजनीले (भोली) सोमबारदेखि पालिकामा दुई हजार १९ किशोरीलाई खोप लगाउने गरि अभियान संचालन गर्ने तयारी गरेको छ ।
घोडाघोडीमा पाँच हजार ६५ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा बिहिबारसम्म तीन हजार ५६ किशोरीले खोप पाएको र शुक्रबार स्थानीय विदा भएका कारण तथा बर्दगोरियामा एक हजार ७७ किशोरीले बुधबारसम्म खोप पाएका थिए भने बिहिबार र शुक्रबार नियमित खोप कार्यक्रम रहेकाले अभियान स्थगित भएको थियो । यी पालिकामा पनि आजदेखि अभियानलाई निरन्तरता दिइने छ ।
लक्ष्यको आधा पुग्नै धनगढीमा सकस
धनगढी उपमहानगरपालिकाले मंसिर २२ गतेदेखि एचपीभी खोप अभियान भव्यताका साथ शुभारम्भ गरेको थियो । तर, शुक्रबारसम्म अनुमानित लक्ष्यको आधा किशोरीलाई उपमहागनरपालिकाले खोप दिन सकेको छैन् ।
१० हजार आठ सय ३४ किशोरी तथा छात्राहरुलाई खोप लगाउने लक्ष्य लिएको उपमहानगरपालिकाले शुक्रबारसम्म पाँच हजार तीन सय २५ किशोरीलाई खोप दिएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा रहेको छ ।
उपमहानगरपालिकामात्र नभई जिल्लाभित्र रहेका नगरपालिकाभित्र खोप पाउने किशोरीको लक्ष्यका आधारमा संख्या सन्तोषजनक देखिएको छैन् ।
कैलालीको सबैभन्दा बढी खोप पाउने किशोरीको लक्ष्य अनुसार चुरे गाउँपालिका रहेको छ । एक हजार एक सय आठ किशोरी तथा छात्रालाई खोप लगाउने लक्ष्य रहेकोमा सो अवधिमा एक हजार ५२ किशोरीले खोप पाएको कार्यालयले जनाएको छ भने त्यसपछि बढी जानकी गाउँपालिका रहेको छ । दुई हजार एक सय ४७ किशोरी संख्या लक्ष्य रहेकोमा एक हजार छ सय ८८ किशोरीले खोप पाएका छन् ।
कैलालीको गोदावरी नगरपालिकामा छ हजार आठ सय ४५ किशोरी लक्ष्य रहेकोमा तीन हजार आठ सय २३, गौरिगंगा नगरपालिकामा चार हजार दुई सय ९० लक्ष्य रहेकोमा दुई हजार नौ सय ५४, घोडाघोडी नगरपालिकामा पाँच हजार ६५ लक्ष्य रहेकोमा तीन हजार ५६, लम्की चुहा नगरपालिकामा पाँच हजार सात सय ७४ लक्ष्य रहेकोमा दुई हजार आठ सय ६ र टीकापुर नगरपालिकामा पाँच हजार चार लक्ष्य रहेकोमा दुई हजार पाँच सय ९७ किशोरीले खोप पाएको तथ्यांकमा उल्लेख रहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार कैलारी गाउँपालिकामा एक हजार नौ सय ७५ लक्ष्य रहेकोमा एक हजार दुई सय ३९, जोशीपुरमा एक हजार छ सय ७० लक्ष्य रहेकोमा आठ सय ८७ र बर्दगोरियामा दुई हजार पाँच सय ८५ लक्ष्य रहेकोमा एक हजार ७७ किशोरीले खोप पाएको उल्लेख छ ।