धनगढी -सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन विकास तथा संस्कृतिको प्रवर्धन साथै यस क्षेत्रमा रहेका अन्य विकासका सम्भाव्यतालाई उजागर र प्राकृतिक रूपले सुन्दर सुदूरपश्चिमलाई आर्थिक रुपमा समेत समुन्नत सुदूरपश्चिमको निर्माणमा टेवा पुर्याउने उद्देश्यका साथ पहिलोपटक रङ्गमञ्चीय नाट्यकार्यशाला आयोजना हुने भएको छ।
विभिन्न क्षेत्रहरूका विभिन्न ठाउँमा तालिम हुने गरेको अवस्थामा नाट्य क्षेत्रमा भने त्यस्तो कुनै तालिम नभएको र नाट्य क्षेत्रको उजागर गर्ने उद्देश्यले सुइना नाट्य समूहले सो रङ्गमञ्चीय नाट्यकार्यशाला आयोजना गर्न लागेको हो। विभिन्न व्यक्तित्वहरूमा विभिन्न कलाहरू रहेको र ती कलाहरूलाई प्रस्फुटन गर्ने ठाउँ नपाएको अवस्थामा विभिन्न टेलिश्रृङ्खला नाटक भिडियोहरू तथा चलचित्रमा समेत अभिनयको अवसर राखेर सो नाट्यशालाको आयोजना गर्न लागेको सुइना नाट्य समूहका सदस्य तथा नाट्य तथा नित्यकलाकार सुनिल पन्तले बताए ।
रङ्गमञ्चीय नाट्यकार्यशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल नाटक निर्देशक जीवनचक्र भद्रगोल मेरीबासै जस्ता दर्जनौँ टेलिसरियलमा अभिनय र आधा दर्जनभन्दा बढी राष्ट्रिय टेलीचलचित्रका सहायक निर्देशक दमाई महाराज पिर जाली रुमाल फाट्यो दुई बाँचे पो जिन्दगी जस्ता चर्चित गीतका भिडियोमा अभिनय गरिसकेका र के घर के डेरा चिसो मान्छे जुलेबी दिमाग खराब फिरिफिरी फिरिरी जस्ता चलचित्रमा अभिनय गरिसकेका प्रशिक्षक पुष्पराज अवस्थी आउने भएका छन् ।
साथै सुदूरपश्चिमका विभिन्न नाट्य शृङ्खलाहरूमा अभिनय गरिसकेका विभिन्न कलाकारहरूबाट समेत प्रशिक्षण गराइने कार्यक्रम संयोजक तथा नाट्य र नृत्य कलाकार सुनिल पन्तले बताए ।
नाट्यकार्यशालामा सहभागी विद्यार्थीहरूलाई नाट्य क्षेत्रको बारे जानकारी दिने सुदूरपश्चिममा रङ्गमञ्च स्थापनाका लागि पहल गर्ने र नाट्य क्षेत्रबाट सुदूरपश्चिमको कला संस्कृतिको प्रस्तुत गर्ने उद्देश्य लिएर यो कार्यक्रम आयोजना गरिएको र यो कार्यक्रममा सुदूरपश्चिमका जुनसुकै जिल्लाका विद्यार्थीले पनि सहभागिता जनाउन सकिने संयोजक पन्तले बताएका हुन् ।
सहभागिता जनाउन प्रत्येक व्यक्तिले रु १ हजार तिर्नुपर्ने र १२ जना सहभागी हुने तथा समूहमा सहभागिता जनाउने विद्यार्थीलाई विशेष छुटको व्यवस्था समेत रहेको उनले बताए । कार्यक्रममा सहभागिता जनाउन सुइना नाट्य समूहको सम्पर्क नम्बर ९८४८ ४०४८४३ र ९८४८ ४२३५६० मा सम्पर्क गर्न सकिने आयोजक समूहले जनाएको छ।