सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष भदौ ८ देखी सुरु हुँदै- यस्तो रहेको छ मनाउने तरिका

शान्ती प्रसाद जोशी धनगढी – सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही भदौ ८ देखी सुरु हुने भएको छ ।

अठोला पञ्चांगका पञ्चांगकार डिल्लीराज जोशीले सोमबार विज्ञप्ति जारी गर्दै यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाएका छन । विज्ञप्तिमा भनिएको छ, ‘कृष्णपक्षमा पुजिने गौरालाई अँधेरी वा कालीगौरा भनिन्छ ।’

अठोला पञ्चांगका अनुसार ८ भदौमा बिरुडा पञ्चमी, ९ भदौमा षष्ठी तिथि, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरापर्व मनाइनेछ। ११ भदौपछि भने आ–आफ्नो अनुकूलताअनुरूप गौरा सेलाउने चलन रहेको ज्योतिष डिल्लीराज जोशीले बताए ।

गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइने गरिन्छ ।

गौरा पर्व मनाउने तरिका

गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ। महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन भोलि पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ। पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अथार्त पार्वतीको पूजाअर्चना गरिन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पुजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन्। अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ। सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ।

बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् ।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ।

प्राचीन कथा

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणँहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्रह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको जनविस्वाश रहि आएको छ । यो पर्वमा देउडा र धमारी खेल्ने गरिन्छ। गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्नुका साथै माया, प्रेम बाँड्ने गरिन्छ।

ad_wide