धनगढी– झण्डै दुइ साताअघि अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएपछि धनजनको क्षति पुग्यो । लगत्तै दोस्रो दिन मुख्यमन्त्री कमलबहादुर शाह अध्यक्ष रहेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले पीडित परिवारलाई तत्काल स्थानीय तहमार्फत ५० लाख उपलब्ध गराउने घोषणा ग¥यो । तर, अहिलेसम्म पीडित परिवारले सो राहात रकम पाएका छैनन ।
बान्नगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदले प्रदेश सरकारले घोषणा गरेको रकम अहिलेसम्म उपलब्ध नभएको बताए । उनले भने –‘अहिले विभिन्न संघ–संस्था, प्रवासमा रहेका नेपाली दाजुभाई लगायतबाट सहयोग रकम संकलन गरि पीडित परिवारलाई राहात वितरण गरिरहेका छौं ।’ उनले प्रदेश सरकारले रकम कहिले उपलब्ध गराउनेबारे जानकारी नभएको बताए ।
आगलागीबाट जयगढ बजारमा रहेका २७ वटा पसल र घरमा क्षति पु¥याएको थियो । झण्डै सात करोड बढीको क्षति सो आगलागिबाट भएको जनाइएको छ । पुष्पराज शर्माको आईएमई सेन्टरबाट आगो फैलिएको थियो ।
अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ हाटबजारमा शनिबार बिहान भएको आगलागीबाट पीडित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल दश लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाइएको छ ।
शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानबिय सहायता स्वरुप दश लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सचिवालयले जानकारी दिएको छ ।
२०८० साल मंसिर १ गते सारथी अस्पतालसहित १० व्यवसायीहरुले आगलागिबाट क्षति व्यहोर्नु परेको थियो भने २०८० पुस १ गते डडेल्धुराको मुख्य बजारमा आगलागी भएपछि व्यवसायीहरुले क्षति व्यहोरेका थिए । डडेल्धुराको बागबजारमा भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । बागबजारको शुलभ फेन्सीको अन्दाजी १ करोड २० लाख, कैलपाल मेडिकलको अन्दाजी ८० लाख र शिशिर फेन्सीका ८० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।
धनगढीको मुख्य बजारमा भएको आगलागीबाट १४ करोड बढीको क्षति व्यहोरेका थिए । सारथी अस्पतालको पाँच करोड ५० लाख, भण्डारी सु–सेन्टरमा चार करोड २५ लाख र ५० लाख गरि चार करोड ७५, भट्ट सपिङले एक करोड ३० लाख, जसमा मधुमाला वेबी क्लेक्सनको ६० लाख, सुदिक्षा बेबी सपको एक करोड २० लाख र सुभिक्षा बेबी क्लेक्सनको ९५ लाख क्षति भएको थियो ।
‘हामीले त्यति ठुलो क्षति व्यहोर्दा सुदूरपश्चिम सरकारले कुनै सुनुवाई गरेन’ अस्पतालका सञ्चालक वेदप्रकाश जोशीले भने –‘जसरी अछामका आगलागी पीडितहरुलाई सरकारले रकम दिने निर्णय गरेको छ । त्यही प्रक्रिया अनुसार हामीले पनि पाउनुपर्छ । अहिले सरकारको व्यवहारले हामीमाथि अन्याय गरेको आभास भएको छ । हामी कुन प्रदेशका नागरिक हु भन्ने बनाएको छ ।’
‘सायद मुख्यमन्त्री शाह र सामाजिक विकास मन्त्री मेघराज खडका अछामकै भएर होला ? त्यहाँ आगजनीबाट क्षति भएकै दिन राहात रकम दिने घोषणा गरे । तर, हामीले आगलागिबाट क्षति व्यहोरेको १६ महिना बढी भइसकेको छ । कुनै राहात दिएनन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवादेखि विभिन्न नेताहरु समेत गुहारेका थिए । सो बेला हुन्छ भने पछि कानुनतः मिल्दैन भनी दिएनन’ भण्डारी सुज सेन्टरका सञ्चालक दलबहादुर भण्डारीले भने –‘अछाममा आगलागी भएको दोस्रो दिननै राहात रकम घोषणा भयो । त्यो कुन कानुन अनुसार भयो ? कानुन सबैका लागि बराबर हुनुपर्दैन । एकै प्रवृतिको घटना त हो । तर, हामीलाई प्रदेश सरकारले किन नदिएको हो ?’