धनगढी– नेपालका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनी नेपालीबाट रकम माग्ने दुई अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल–भारत सिमा क्षेत्र गौरीफन्टा नाकाबाट नेपाल आउदै गरेका एक नेपालीबाट भारतीय रुपैयाँ दुई हजार माग्ने अटो चालकलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
गोदावरी नगरपालिका वडा नम्बर ०२ अत्तरीया बस्ने २७ वर्षिय लोकेन्द्र ओझाबाट रकम माग्ने धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मिलन चोकका २८ वर्षिय अटो चालक मान बहादुर बयाडी र वडा नम्बर २ चौराह बस्ने ३१ वर्षिय करन बोहरालाइ पक्राउ गरेको हो ।
नेपाल तर्फका सुरक्षाकर्मीहरुलाई पैसा दिनुपर्छ भनि ओझाबाट नगद भारु २ हजार मागि सुरक्षा संगठनलाई नै बदनाम गर्ने कार्य गरेको भन्दै उनलाई पक्राउ गरिएको जनाइएको छ ।
ती दुई जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कार्यालयमा पठाएको हुँदा दुबै जनालाई कानून बमोजिम कारवाही अगाडी बढाई, पिडितको रकम नगद फिर्ता गरिएको प्रहरीले जनाएको छ ।