सेति अस्पतालमा क्यान्सर स्क्रिनिङ्ग युनिट सुरु, पहिलो दिन एक सय २० जनाले सेवा लिए

धनगढी– सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ्ग युनिट सञ्चालनमा ल्याइएको छ ।

मंगलबार विपी कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुरका विशेषज्ञ टोलीसहितको सहभागितामा युनिट सञ्चालनमा ल्याइएको हो । अस्पतालका उप–निर्देशक युरोलोजिस्ट डाक्टर उमेश नेपालको नेतृत्वमा खटिएको टोलीले अस्पतालमा पहिलो दिन एक सय २० जनालाई सेवा दिएको छ । मेडिसन तर्फ १० जना, सर्जरी २१ जना नाक, कान तथा घाँटीका १८ जना, भिआइयु टेस्ट ५२ जना लगायतका सेवा लिएको अस्पतालका सूचना अधिकारी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनले भने –‘अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्बन्धि कार्यविधि २०८१ बनेको छ । सोही अनुसार विपी मेमोरियलले महिनामा दुई पटक सो यूनिटबाट सेवा दिने उल्लेख छ ।’ विहान ९ बजेदेखि शुरु भएको युनिटमा नाक, काँन, घाँटी, मुख एवं महिलाहरुको पाठेघर र स्तनसम्बन्धि विभिन्न प्रकारका क्यान्सर स्क्रिनिङ्ग गरिएको छ । उनले क्यान्सर रोग लागि उपचार गराइरहेका, फलोअपमा रहेका र क्यान्सर रोगको शंका लागेका सेवाग्राहीहरुलाई सहज सेवा प्रदान गर्न युनिट सञ्चालनमा ल्याइएको बताए ।

ad_wide