धनगढी- सेती प्राविधिक शिक्षालय दिपायलले चमेना गृह (क्यान्टिन) ठेक्का लगाउने प्रक्रियामा त्रृटी गर्दा ठेक्का सम्झौता हुन सकेको छैन् ।शिक्षालयले व्यवसायीहरुबिच प्रतिष्पर्धा नहुने गरि अधिकत्म र न्यूनतम रकम कायम गर्दा ठेक्का प्रक्रियामा समस्या देखिएको व्यवसायीहरुको गुनासो रहेको छ ।
शिक्षालयका केही कर्मचारीको व्यक्तिगत स्वार्थका कारण बोलपत्र प्रक्रियानै त्रृटिपूर्ण ढंगमा अघि बढाइएको थियो । शिक्षालयले जेठ ३१ गते प्रशिक्षार्थी मेस (क्यान्टिन) सञ्चालनका लागि दरभाउपत्र ठेक्का सम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा न्यूनतम मूल्य तोकिए पछि सबै जसो व्यवसायीहरुले सोही वमोजिम मूल्य कायम गरेर शिलबन्दी दरभाउसहितको आवेदन पेश गरेका थिए ।
शिक्षालयले असार २० गते अर्को सूचना जारी गरेर एक भन्दा बढी फर्महरुको न्यूनतम मूल्य जुधेका कारण कुनै पनि फर्म स्वीकृत नभएको जनाएको थियो । शिक्षालयका केही कर्मचारीहरुले लाभ लिन नपाएपछि ठेक्का प्रक्रियामा विवाद अघि बढाइएको थियो । बोलपत्र आह्वानपश्चात शिक्षालयका केही कर्मचारीहरु व्यवसायीहरुसंग बाग्रेनिङ्गमा उत्रिएका थिए ।
ठेक्का सम्झौताका लागि गठित मूल्यांकन समितिले आवेदन पेश गरेका व्यवसायीहरुको मापदण्ड नपुग्दा पनि प्रतिष्पर्धि बनाएको व्यवसायीहरुको भनाई छ । शिक्षालयले विद्यार्थीको खानामा प्रति व्यक्ति, प्रति महिना अधिकतम चार हजार ८ सय र न्यूनतम ४ हजार ३ सय ८० मूल्य कायम हुने गरी टेण्डर हाल्न उल्लेख गरेको थियो । कर्मचारीहरुको हकमा मासिक अधिकतम ५ हजार र न्यूनतम ४ हजार ८ सय दररेट राखेर ठेक्का अघि बढाएको थियो ।
शिक्षालयका कर्मचारीहरुको लापर्वाही र गलत टेण्डर प्रक्रिया अपनाएका कारण विवाद सृजना भएको एक व्यवसायीले बताए । “सो टेण्डरमा व्यवसायी बीच प्रतिस्पर्धा हुने वातावरण नै भएन,“एक व्यवसायीले भने,“कर्मचारीहरुले व्यवसायीहरुसँग बार्गेनिङ्ग गर्ने, पुरानो फर्मलाई नै निरन्तरता दिने गलत नियत राखेर टेण्डर खोलेको थियो । त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”
टेन्डर निकाल्दा नै हामीले शिक्षालयलाई यो रद्द गर्ने नियतका साथ निकालिएको टेण्डर हो भनेर सुझाव दिएका थियौ । न्यूनतम मूल्य कायम गरेपछि सबै व्यवसायीहरुले सोही मूल्य राख्ने र टेण्डर रद्द हुने निश्चत थियो । यो शिक्षालयको गम्भीर त्रुटी हो, अर्का व्यवसायीले भने । टेण्डर रद्दपछि अहिलेसम्म शिक्षालयले चमेनागृहको ठेक्का प्रक्रिया अघि बढाउन सकेको छैन भने ठेक्कामा आवेदन पेश गरेका केही व्यवसायीहरुको धरौटीसमेत शिक्षालयले फिर्ता गरेको छैन् । शिक्षालयकी प्रमुुख शुशिला शर्माले चमेनागृह शिक्षालयको आम्दानीका रुपमा रहेको बताइन् । सूचना जारी गरिएपनि विवाद भएपछि अहिले प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ । उनले भनिन चमेनागृह ठेक्का सम्झौता गर्दा विवाद भएकोले पुरानै फर्ममार्फत सञ्चालन भइरहेको छ । न्यूनतम ठेक्का मूल्य नराख्दा पुरानै दररेटले चमेनागृह घाटामा गइरहेको थियो । त्यसैले न्यूनतम र अधिकतम रकम तोकिएको हो । शिक्षालयका कर्मचारीहरुले भने व्यवसायीसँग तपाईएको फर्म पारिदिन्छौं भन्दै विभिन्न व्यवसायीहरुलाई आश्वासन दिएका थिए । शिक्षालयका कर्मचारी टेण्डर पारिदिने भन्दै एक व्यवसायबीको घरमा गएर बार्गेनिङ्ग गरेको गुनासो छ ।
अहिले शिक्षालयमा चमेनागृहको विषयमा सोधपुछ गर्न कोही जाँदा शिक्षालयकी प्रमुख शुशिला शर्माको मोबाइलमा शिक्षालयका कर्मचारीको फोन आउने गरेको छ । फोन गर्ने व्यक्तिकै इशारामा प्रमुख शर्माले प्रतिक्रिया दिने वा नदिने भन्ने निर्णय गर्ने गरेकी छिन् । ‘मलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले जिम्मेवारी दिएर पठाएको हो, यसलाई राम्रोसँग सञ्चालन गर्नु मेरो जिम्मेवारी हो’ शर्माले भनिन् ‘कुनै व्यक्ति विशेषको फाइदाका लागि शिक्षालयको अहित हुने गरी काम गर्दैन ।’
उनले आफू कानुन मिचेर कुनै काम नगर्ने र त्यस्तो काम गर्न दबाब आए आफू सरुवा भएर जाने बताइन् । क्यान्टिनको विषयमा बाहिर आएको विवादमा उनले नियम अनुसार जे गर्नु पर्ने थियो, सोही भएको छ ।’