बिहिबार, जेष्ठ ८, २०८२

सेवाग्राहीबाट २५ प्रतिशत कमिसन असुल्दै धनगढी उपमहानगर, नगर प्रमुख भन्छन– ‘भुक्तानीका सबै जिम्मा वडामा छ’ (अडियो सहित)

शेर बहादुर ऐर
धनगढी । ‘पहिला कुल भुक्तानी रकमको २५ प्रतिशत उपमहानगरपालिकामा छोड्नुहोस । अनि तपाइको बिल पास गराउँछु’ धनगढी उपमहानगरपालिकाकी लेखा अधिकृत सपना बोगटीले सेवाग्राहीलाई दिएको प्रतिक्रिया हो यो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयसंगको सम्झौता अनुसार काम गरेवापतको रकम भुक्तानी लिन पुगेका सेवाग्राहीले २५ प्रतिशत दिन नमानेपछि फिर्ता पठाइएको हो । उनले २५ प्रतिशत उपमहानगरमा दिए भुक्तानी हुने प्रतिक्रिया दिइन । तर दिन नमानेपछि ‘कागजपत्र नमिलेको भन्दै’ भुक्तानी दिइनन् ।

सेवाग्राहीले के को २५ प्रतिशत हो भनेर प्रश्न गर्दा उनले प्रतिक्रिया दिइन् –‘पत्रपत्रिकालाई हामीले माग्ने गरेका छौं ।’

उपमहानगरपालिकाले २५ प्रतिशत कमिसन मागेको भन्दै वडा अध्यक्ष राजबहादुर ऐरलाई गुनासो गरे । तर, वडा अध्यक्ष ऐरले सो कमिसन दिएर भुक्तानी लग्न सुझाव दिए ।
सो बिलमात्र नभई वडामा उपभोक्ता समितिबाट भएका कामको भुक्तानीमा पनि २५ प्रतिशत कमिसन काटिएको आवाजमा सुनिएको छ । उनका सहायक लेखा अधिकृतले वडामा उपभोक्ता समितिमार्फत चार लाखको भुक्तानीका लागि बिल आएको बताउँदै ‘चार लाखमा एक लाख कटौति त गर्ने हो नी ?’

धनगढीमा संस्था, उपभोक्ता समिति वा निर्माण व्यवसायीहरुले काम गरेवापतको भुक्तानी लिनुपर्दा उपमहानगरपालिकाले कमिसन लिने गरेको गुनासो रहेको छ ।

लेखा अधिकृतले कमिसन नपाए सबै कागजपत्र मिलेको भएपनि हराइदिने, भुक्तानी समयमै दिन आनाकानी गर्ने लगाएतका गुनासो उपमहानगरवासीबाट आउने गरेको छ ।

धनगढीमा सुशासन, पारदर्शी ढंगले काम गरिरहेको नगर प्रमुखको दाबी यसले छर्लगं देखाएको छ । नगरमा कमिसन नदिए वा नगर प्रमुखबारे टिकाटिप्पणी गरे काम नपाउने, समस्या झेल्नुपर्ने लगायतका भय उपमहानगरमा रहेको छ ।

नगर प्रमुख गोपाल हमालले उपमहानगरपालिकाले ठुला आयोजनाको मात्र भुक्तानी गर्ने गरेको बताउँदै लेखा अधिकृत सरस्वती जोशीको संरक्षण गरे ।

उनले भने –‘अहिले १० लाखभन्दा तलका भुक्तानी वडाबाटै हुने गरेको छ । उपमहानगरपालिका कसैले आउनुपर्दैन् । कसैले कमिसन मागेको भए, मलाई जानकारी दिनुहोस् । हामी तपाइको नाम गोप्य राख्ने छौं ।’

नगर प्रमुख हमालले भनेझै धनगढीमा वडामा भएका काम गरेको भुक्तानी लिनुपरेमा उपमहानगरनै धाउनुपर्ने छ । वडामा गरेको कामका आधारमा वडा अध्यक्ष र वडा सचिवको सिफारिसका आधारमा उपमहानगरपालिकाको लेखा शाखामा भुक्तानी लिन जानुपर्ने वडा अध्यक्षहरुको भनाई छ ।

ad_wide