स्थानीय परिकारसंगै चिया पारखीहरुको ‘चियाकफी दरबार’

धनगढी । दरबार भन्ने वित्तिकै के सम्झनुहुन्छ ?

कुनै राजा बस्ने घर भन्ने होला ।

हामी भने यहाँ ‘चिया कफी दरबार’ को कुरा गर्दैछौं । यो चियाकफी दरबार धनगढीको निर्माण व्यवसायी संघको व्यवसायीक भवन रातोपुलमा छ । यहाँ भेला हुन्छन् चिया पारखीहरू ।

पाँच महिना अघि यो सञ्चालनमा आएको हो । चिया पसललाई फरक ढंगले सञ्चालन ल्याउन सञ्चालक खेमराज जोशीले उपयुक्त सोचे । दुई वर्ष अघि आफनै घरमा मालपोत कार्यालयको छेउमा उनले चियाकफी घर खोले । अहिले त्यसैको शाखा रातोपुलमा राखेका छन् ।

शिशा, प्लाष्टिक लगायतका गिलासमा चिया पिउने चलन रहेकोमा जोशीले मट्का (माटोको भाडा) मा चिया दिने योजना ल्याए । चिया मात्र नभई स्थानीय मौलिक परिकार पनि दरबारमा पाइने गरेको छ । चियाकफी दरबारमा सुदुर पश्चिमको बिशेष परिकार निसौंसे (भुने रोटी) पनि उपलब्ध रहेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्दै आएका केशव जोशी चिया पिउनु परे वा सुदुर पश्चिम का परिकार खान मन लागे त्यही पुग्ने गरेका छन् । ‘यहाँ रोजेको र खोजेको जस्तै स्वादमा परिकारहरु पाइन्छन् ।’

दरबारमा बासमति चामलको भात, कोदो, फापर लगायत स्थानिय उत्पादनका परिकार पाइन्छन् ।

धनगढी बस्दै आएका दिपक उपाध्याय नियमित रुपमा चिया पिउन दरबार जाने गरेको बताउँछन् । उनले भने –‘यहाँ स्वस्थ, स्वच्छ र गुणस्तरिय परिकार पाइने भएकाले मेरो रोजाईमा परिरहेको छ ।’

चिया पारखीका लागि सञ्चालनमा ल्याइएको दरबारको योजना ‘आहार अनुसारको मूल्य’ को शुरुवात गरेको छ । जस अनुसार रु ९९।- मा नै खाना उपलब्ध गराइरहेको छ । जोरायल बासमति चामलको भात, पहाडी तथा थारु आलुको तरकारी, स्थानीय दाल र भाँङ्गको चट्नी उपलब्ध गराउने गरेको छ । कम खाना खानेले रु ९९ ।- रुपैया र थपेर खाना खानेलाई रु १५० रुपैयाँ लिने गरेको सञ्चालक जोशी बताउँछन् ।

उनले भने –‘खाना हामी सबैले बराबर खाँदैनौं कसैले कम र कसैले बढी खाने भएकाले आहार अनुसारको मूल्य निर्धारण गरेको उनी बताउँछन् । चियाकफी दरबारमा सुदुर पश्चिममा चाडपर्वहरूमा बनाईने निसौंसे रोटी ग्राहकहरूको अत्यधिक रोजाइमा परेको छ ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM