धनगढी २ चैत – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघलाई जिताउन कैलाली तरुणदल जिल्ला दौडाहमा लागेको छ ।
नेपाल तरुणदल जिल्ला कार्यसमिति सदस्य नवीन रावलको नेतृत्वमा तरुणदल जिल्ला सदस्य गौरवराज पाण्डे (मिलन), महेन्द्र शाह, जीवन खड्का र कैलाली क्षेत्र नम्बर ५ (क)का अध्यक्ष शैलेन्द्र कुँवर, क्षेत्र नम्बर (ख)का अध्यक्ष तेजु रोकाया तथा नगर अध्यक्ष सम्राट शाहको टोली जिल्ला दौडाहमा जुटेको हो ।
तरुणदलको टोलीले स्ववियु निर्वाचन हुने क्याम्पसमा नेविसंघको टिमलाई मतदान गरी सहयोग गर्न विद्यार्थीको माहोल सिर्जना गर्दै चाहिने सयोग गरिरहेको तरुणदलका जिल्ला सदस्य रावलले बताए । उनले भने,‘हामी स्ववियु निर्वाचनका लागि विद्यार्थीलाई चाहिने निर्वाचन सामग्री, पोष्टर, पम्पलेटहरु सहयोग गर्दै जिल्ला दौडाहमा जुटेका छौँ ।’
तरुणदलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ र कांग्रेस युवा नेता प्रकाश देउवाको निर्देशन बमोजिम आफूहरु नेविसंघ जिताउ अभियानमा जिल्ला दौडाहमा लागेको उनले बताए । ‘तरुणदलको माथिल्लो निकायको निर्देशन बमोजिम सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लाका क्याम्पसमा हुने निर्वाचनमा जित हासिल गर्न हामी लागेका छौ,’ उनले भने ।