धनगढी- कैलालीको धनगढीमा हावाहुरीले ६५ वटा विद्युतका पोलहरू भाँचेको छ। नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रको मातहतमा मात्र ६५ वटा पोलहरू हावाहुरीले भाँचेको हो।
नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रका अनुसार बुधवार साँझको हावाहुरीले धनगढीमा ठुलो क्षति गरेको हो। धनगढी उपमहानगरपालिका–१०, ७, ८,१२,१८ र १९ नम्बर वडा क्षेत्रका विद्युतका पोल हावाहुरीले भाँचेको छ। बुधवारदेखि धनगढी उपमहानगरपालिका क्षेत्रका तीन हजार बढी ग्राहकहरू प्रभावित भएका छन्।
उनीहरुको घरमा विद्युत्को आपूर्ति बन्द भएको हो। धनगढी वितरण केन्द्रका अनुसार मर्मतको काम जारी रहेको छ। शुक्रवार साँझसम्म मर्मतको काम पूरा हुने र विद्युत् सेवा सुचारु हुने छ। नेपाल विद्युत् प्राधिकरणलाई एक पोलको मूल्य ११ हजार पाँच सय रुपैयाँ लाग्ने गरेको छ। तीन हजार सात सय रुपैयाँ एक पोल गाडेको प्राविधिक तथा कामदारहरुले लिने गरेका छन्। तारमा भएको क्षति र अन्य क्षति भएमा लागत अझै बढी हुने देखिएको छ