२९ वर्ष यताकै सबैभन्दा बढी गर्मी – धनगढी उपमहानगरपालिकाले दियो सात दिनका लागि सम्पूर्ण विद्यालयमा बिदा

धनगढी ।  आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा २९ वर्ष यताकै सबैभन्दा बढी गर्मी भएको छ।

सन् १९९५ को जुन महिनापछि बिहीबार दिउँसो बढी तापक्रम मापन गरिएको छ । मंगलबारबाट उकालो लागेको तापक्रम बिहीबारसम्म लगातार बढिरहेको छ ।

मंगलबार ४२ डिग्री सेल्सियस तापक्रम मापन भएकोमा बुधबार ४३.३६ डिग्री र बिहीबार (आज) ४४ दशमलव १ डिग्री मापन भएको हो। मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले १९९५ पछि बिहीबार बढी तापक्रम मापन भएको दिन भएको बताए ।

सन १९९५ जुनमा धनगढीको तापक्रम ४६ दशमलव ४ मापन भएको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिए ।

गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो। गर्मी बढेसँगै धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

ad_wide