शेरबहादुर ऐर धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले शनिबार आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउने भएको छ । शनिबार बस्ने प्रदेसशभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री सुरेन्द्र पालले बजेट प्रस्तुत गर्नेछन् । चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोडको बजेट पेश गरेको प्रदेश सरकारले आर्थिक वर्ष ८१÷८२ का लागि बजेट आकार बढाएर ल्याउन लागेको हो ।
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने मन्त्री पालले बताए । ‘बजेट झण्डै ३३ अर्वको ल्याउने तयारी भएको छ’ मन्त्री पालले भने –‘बजेटको सम्पूर्ण तयारी भइसकेको छ । अब प्रदेश सभामा पढेर सुनाउनमात्र बाँकी रहेको छ ।’ मन्त्री पालका अनुसार आगामी वर्षमा टुक्रे योजना समेटिएका छैनन् । उनले भने –‘स–साना भन्दा पनि ठुला योजनालाई मात्र बजेटमा समावेश गरिएको छ ।’
स्वास्थ्य, कृषि, रोजगारी र उद्योगलाई प्राथमिकतामा राखेर सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको थियो । कृषितर्फ साना तथा गरिबलाई कृषि क्रण उपलब्ध गराउने व्यवस्था मिलाउने, बिउ बिजनलगायत कृषिजन्य उपकरणमा भन्सार शुल्कमा अनुदान, कृषि पशुपन्छी मत्स्य उत्पादनमा अनुदान, गाई, भैंसी तथा बाख्रा फार्मको उत्पादनलाई बजारीकरणमा अुनदान, सहकारी संस्था मार्फत सीप विकास कार्यक्रम सञ्चालन गर्नेलगायत कार्यक्रम समावेश थिए ।
कृषि श्रणमा ब्याजमा अनुदान दिइने, मल, बीउ, कृषि उपकरण तथा कृषि कार्यका लागि उपयोग गरिने विद्युत् शुल्कमा अनुदान दिने कार्यक्रम पनि बजेटमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो । सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ बजेट विनियोजन गरिएको छ ।
यहाँ ७ मन्त्रालय, दुई वटा आयोग, प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय, मुख्यान्याधिवक्ताको कार्यालय रहेका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेटको आकार बढाएर ल्याउँदै गर्दा खर्च प्रतिशतमा भने सुधार हुन सकेको छैन् । चालु आर्थिक वर्षको बैशाखसम्ममा प्रदेश सरकारको कुल बजेटमा ३६ प्रतिशतमात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जसमा पुँजिगत खर्च भन्दा चालु बढी रहेको छ । चालु तर्फको खर्च प्रतिशत बढी भएपनि पुँजिगततर्फको खर्चमा सरकार कमजोर रहेको छ ।